किम र ट्रम्प भेट्न उत्सुक



काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियाका नेता किम जोङ उन ट्रम्पसित भेटवार्ताका लागि निकै उत्सुक छन् । आफूलाई यो कुरा अरू कसैले नभई चिनियाँ राष्ट्रपति सी जिनपिङले बताएको उनले उल्लेख गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

ट्रम्पले एक ट्विटमार्फत यो जानकारी दिएका हुन् । चिनियाँ राष्ट्रपति सीले आफूलाई सन्देश पठाएर सी र किमबीचको भेटवार्ता सफल भएको जानकारी गराएको पनि राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् ।

यद्यपि, ट्रम्पले आफ्नो ट्विटमा यो पनि बताएका छन् कि जबसम्म मे महिनामा प्रस्तावित ट्रम्प र किमबीचको बैठक हुनेछैन, तबसम्म उत्तर कोरियामाथि लगाइएका अधिकतम प्रतिबन्ध कायमै रहनेछन् ।

किमको पहिलो विदेश भ्रमण
राष्ट्रपति डोनाल्ड ट्रम्पको यो टिप्पणी बुधबार बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि आएको हो । सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेपछि किम आफ्नो पहिलो विदेश भ्रमणका रूपमा चीन पुगेका हुन् ।

यसअघि एउटा अर्को ट्विटमा ट्रम्पले लेखेका थिए– कयौँ वर्षसम्म अमेरिकी प्रशासकले उत्तर कोरियाका साथमा शान्ति स्थापित गर्न र उसको आणविक कार्यक्रममा रोक लगाउन निकै कठिन छ भन्दै आए । तर, अब मानवता र आफ्ना नागरिकका लागि किम जोङ उनले सही निर्णय लिने अपेक्षा बढेको छ । मलाई यस भेटवार्ताको प्रतीक्षा छ ।

त्यसो भए कुराकानी अघि बढिरहेको छ त ?
डोनाल्ड ट्रम्प र किम जोङ उन अचानक एक शिखर वार्ताका लागि तयार भएको निर्णयले कैयौँ पर्यवेक्षकलाई चकित बनाएको छ । यो भेटवार्ता सम्भव भयो र दुवै नेता वार्ताको टेबुलमा आमनेसामने भए भने ट्रम्प कुनै उत्तर कोरियाली नेतासित भेटवार्ता गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् ।

यस वार्तालाई लिएर सबैभन्दा सुरुवाती वक्तव्य दक्षिण कोरियाले जारी गरेको थियो । सो वक्तव्यमा दुवै देश वार्ताका लागि तयार भएको उल्लेख गरिएको थियो । मे महिनामा दुवै राष्ट्रप्रमुखको एक बैठक हुनेछ ।

तर, यसको स्थान र मितिबारे आधिकारिक वक्तव्य आउन अझै बाँकी नै छ । यद्यपि, ट्रम्पको यस निर्णयलाई लिएर अमेरिकामा चिन्ता पनि व्यक्त गरिएको छ । साथै, ट्रम्पले आफ्नो सरकार र प्रशासनसित चर्चा नगरीकनै यो निर्णय लिएको भन्ने समाचार पनि आएका छन् ।

तर, स्थिति बदलिन पनि सक्छ
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार किम जोङ उनले भनिसकेका छन् कि उनी आफ्नो आणविक कार्यक्रम रोक्न तयार छन् । तर, यसका लागि उनका केही सर्त मान्नुपर्छ । उता, न्युयोर्क टाइम्सले केही स्याटेलाइट तस्बिर प्रकाशित गरेको छ ।

जसअनुसार उत्तर कोरियाले एक नयाँ आणविक रियाक्टर बनाएको दाबी गरिएको छ । जसले हरेक वर्ष २० किलोग्राम प्लुटोनियम तयार गर्न सक्छ । र, त्यसको उपयोग हतियार निर्माणमा हुन सक्छ ।

यसैबीच अमेरिका र दक्षिण कोरियाले आफ्नो साझा सैन्य अभ्यासको तयारी पूरा गरेका छन् । जसलाई जहिल्यै उत्तर कोरियालाई भड्काउने गतिविधि मान्ने गरिएको छ ।

किमलाई चीन जान किन आवश्यक थियो ?
प्योन्चाङ हिउँद ओलम्पिक खेलदेखि नै कोरियाली प्रायद्वीपमा हरेक गतिविधि कूटनीतिकस्तरमा निकै उपयुक्त मानिँदै छ । चीन उत्तर कोरियाको पुरानो समर्थक देश हो । तर, अमेरिकाको प्रयासमा लगाइएको प्रतिबन्धनलाई चीनले पनि सही ठह९याएको थियो । यसबाट निकट सम्बन्ध रहेका दुई देशबीच केही तिक्तता आएको अनुमान गरिँदै थियो ।

यद्यपि, यो पनि एउटा यथार्थ हो कि उत्तर कोरियालाई खाद्य सामग्री र इन्धन चीनले नै दिँदै आएको छ । हाललाई चीन यस विषयमा ध्यान केन्द्रित गरिरहेको छ कि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाका साथमा कस्तो कूटनीतिक चाल चलिरहेको छ ?

प्रतिक्रिया दिनुहोस्