आइतबार खुमबहादुरको दाहसंस्कार



काठमाडौं: कांग्रेस नेता खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । मिर्गौला, छाती र नसाको समस्याले शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको शवलाई शनिबार राति काठमाडौं ल्याइएको थियो । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

फाइल तस्बिर

भारतबाट ल्याइएको शव सानेपास्थित खड्काको घरमा राखेपछि आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ । त्यसपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार हुनेछ । बेलायतमा उच्च शिक्षा अध्ययनरत खड्काका छोरा अनुराग आइतबार बिहान काठमाडौं फर्किएपछि दाहसंस्कार गर्ने तयारी गरिएको हो ।

केन्द्रीय समिति बैठक स्थगित
९ चैतदेखि चलेको कांग्रेस निर्वाचन समीक्षा बैठक स्थगित भएको छ । पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य खड्काको निधन भएपछि आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । शानिबार विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि चुनावी समीक्षाको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कहिले हुन्छ अब चुनावी समीक्षा बैठक ?
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आइतबार केन्द्रीय समिति बैठक केहीबेर बस्ने छ । सो बैठकले केन्द्रीय सदस्य र खड्काको निधनमा एक मिनेट मौनधारण गर्ने र देशभरका कार्यालय तीन दिन बन्द गर्ने र झन्डा झुकाउने निर्णय गर्नेछ । सोही बैठकले २१ चैतबाट पुनः समीक्षा बैठकको आह्वान गर्ने तयारी गरेको छ । कांग्रेसको चुनावी समीक्षा बैठकमा ३८ सदस्यले धारणा राखिसकेका छन् । नाम लेखाएकामध्ये अझै १७ जना बोल्न बाँकी छन् । नाम लेखाएकाले बोल्ने र थप केहीले बोले पनि अब तीन दिनभित्र बैठक सकाउने तयारी कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्