खेल मैदानभित्रै खेलाडी कुटाकुट, दर्शकद्वारा खेलाडीमाथी ढुंगा प्रहार



काठमाडौं: दोस्रो राजर्षि जनक कप फुटबलको फाइनल खेल स्थगित भएको छ । शनिबार खेल चलिरहँदा खेल मैदानभित्र खेलाडीबीच कुटाकुट भएपछि फाइनल खेल स्थगित गरिएको आयोजक बाग्मती युवा क्लब कर्मैयाले जनाएको छ ।

दोस्रो हाफको खेल चलिरहँदा विवाद उत्पन्न भएपछि खेल मैदान तनावग्रस्त बनेको थियो । उपाधि भिडन्तमा सुदूरपश्चिम ११ ले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पछि पारेको अवस्था थियो । आर्मीका खेलाडीले दुई गोल खाँदा खेल विवाद झडपमा परिणत भयो । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

रातो कार्डपछि तनाव
खेलाडीले मैदानमै कुटाकुट गर्न थालेपछि सुरक्षाकर्मी र आयोजकका स्वयंसेवकले छुट्याएका थिए । खेलमा रेफ्रीले सुदूरपश्चिमका आरोनलाई रातो कार्ड दिएपछि विवाद सुरु भएको थियो । आरोन रातो कार्ड खाँदै बाहिरिएका थिए । तर, आर्मीका खेलाडीले आफ्ना साथीलाई लडाएको भन्दै आरोनमाथि हातपात नै गरे । विवाद मिलाएर पुन: खेल चलिरहँदा रेफ्रीले त्रिभुवन आर्मीका तीन खेलाडीलाई अनुशासन पालना नगरी मैदानमा पुनः आक्रमणमा उत्रिएको भन्दै रातो कार्ड दिएपछि विवाद झन् बढेको थियो ।

खेलाडी आयोजकमाथि खनिए
यसक्रममा आर्मीका खेलाडीले बल प्रयोग गरी सुदूरपश्चिम र आयोजक क्लबका पदाधिकारीमाथि हातपातमा उत्रिए । दर्शकहरूले आर्मीविरुद्ध चर्को विरोध गरेका थिए । दर्शकबाट आर्मीका खेलाडीमाथि ढुंगा प्रहार भएको थियो । आयोजकले साँझसम्म नै पटक–पटक खेल गराउने प्रयास गरे पनि तनाव कम नहुँदा सम्भव भएन । दर्शकले मैदानमा उत्रिएर सुदूरपश्चिमको पक्षमा निरन्तर नारा लगाएका थिए । चर्को विरोध र नाराबाजी हुन थालेपछि त्रिभुवन आर्मीका खेलाडी मैदानबाट बाहिरिएका थिए ।

खेल तत्काल नहुने
आयोजकले फाइनल खेल तत्काल गर्न सम्भव नरहेको बताएको छ । आइतबार पुनः फाइनल खेल गराउने प्रयास गरे पनि दर्शकबाट व्यापक आक्रोश र खेलाडीबीच तित्तता देखिएकाले तत्काल खेल गर्न सम्भव नदेखिएको आयोजक बाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताए । उनले अब अर्को सूचना निकालेर फाइनल खेल गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्