भक्तपुर : एक कालिगडले ३० टन ठूलो ढुंगामा महादेवको वाहन बसाहा कुँदिरहेका छन्। साढे चार महिनादेखि एकोहोरो ढुंगा घोटिरहेका उनले बसाहाको ७५ प्रतिशत रूप उतारिसके। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालका पूर्ण कुसुमले कुनै फोटो तथा डिजाइनबिनै ठूलो ढुंगामा बसाहाको आकार दिएका हुन्।
३० वर्ष अघिदेखि ढुंगामा कला र सीप पोख्दै आएका उनले बनाउँदै गरेको बसाहाको उचाइ सात फिट अग्लो छ। १० फिट लम्बाइको उक्त ढुंगाको बसाहाको गोलाइ ४० इन्च रहेको उनले बताए। साढे चार महिनादेखि कहिले एक त कहिले चार जनासम्म कालिगड मिलेर ढुंगा खोप्दै आएका छन्। यसअनुसार अहिले बसाहाको मुखाकृति बनिसकेको छ। बसाहाको सिङ र शरीरमा बुट्टा भर्ने र घाँटीमा रुद्राक्ष माला पनि खोप्ने काम बाँकी रहेको कुसुमले जानकारी दिए।
बसिरहेको बसाहाको ढुंगाको प्रतिमा बन्दा करिब १६ टन तौल हुने उनको अनुमान छ। ‘वैशाखसम्ममा काम सिध्याउने लक्ष्य छ’, उनले भने। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा स्थापना गर्न उक्त बसाहा बनाइएको हो। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले डीआरबी निर्माण तथा सप्लायर्सका लागि उक्त बसाहा निर्माण गर्न ठेक्का दिएको हो। समितिले कुसुमलाई बसाहाको कुनै चित्र, फोटो एवं डिजाइन उपलब्ध गराएको छैन। ‘बसाहाको फोटो हेरेको छैन’, पहिले ढुंगाकै ससाना बसाहा बनाइसकेका उनी भन्छन्, ‘अनुमानका भरमा ढुंगा खोपिरहेको छु।’
ढुंगाको आकारअनुसार केकति लम्बाइ, चौडाइ, उचाइ र गोलाइ आवश्यक पर्छ, सबै जानकारी रहेको उनले बताए। उठ्दा, बस्दा, खाँदा र सुत्दासमेत बसाहा कसरी राम्रो बनाउने भन्ने तर्कनाले नछोडेको उनको भनाइ छ। ‘सपनामा समेत धेरैपटक बसाहा देख्ने गरेको छु’, उनले भने। ढुंगाको सानो बसाहा मात्रै ५० भन्दा बढी बनाइसकेको उनले जानकारी दिए। ‘ठूला सिंहको ढुंगाको प्रतिमा नै ३० भन्दा बढी बनाएँ’, कुसुमले भने, ‘ढुंगामा साना मूर्ति तथा प्रतिमा झन् कति बनाएँ कति, लेखाजोखै छैन।’
ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित एक उद्योगमा काम गर्दै आएका उनी त्यहाँ छोडेर अहिले निजी रूपमै ढुंगामा आफ्नो सीप र कला पोखिरहेका छन्। उक्त बसाहा र डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई बाराको निजगढ निवासी विनोद बुढाथोकीले दान दिने घोषणा गरेको समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिए। सोहीअनुसार ढुंगाको बसाहा बनिरहेको हो। उक्त बसाहाका लागि काभ्रेको कुसादेवीबाट ३० टनको अजंगको ढुंगो ल्याइएको थापाले बताए। (अन्नपुर्ण पोस्ट)