१२ पद खाली, बढुवा हुनुपर्ने एसएसपी अवकाशको मुखमा



काठमाडौं : बाह्र डीआईजीको पद खाली छँदै दुई एसएसपी अवकाशको मुखमा पुगेका छन्। आइतबारसम्म बढुवा सूची प्रकाशन नभए एसएसपीद्वय सुवास चौधरी र विष्णुहरि गौतमले स्वतः अवकाश पाउनेछन्।चौधरीले फागुन २६ गते एसएसपीमा ‘६ बर्से अवधि’ पुगेका कारण र गौतमले २८ गते प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पुगेका कारण अवकाश पाउँदै छन्।

लोकसेवा आयोगको पदपूर्ति समितिको बैठकले १२ जना एसएसपीलाई डीआईजी पदमा बढुवा गर्ने निर्णय गरेको महिना दिन बित्दा पनि गृह मन्त्रालयले बढुवा गर्न नसकेपछि उनीहरूले आफूहरू अन्यायमा परेको बताए। यसबीचमा चौधरी र गौतमले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव मोहनकृष्ण सापकोटालाई समेत भेटेर आफूहरू १२ पद खाली रहँदारहँदै पनि अवकाशको मुखमा पुगेको गुनासो गरिसकेका छन्।

गृहमन्त्री रामबहादुर थापासँग बढुवा आकांक्षीको तीव्र लबिङ चलिरहेको छ। बढुवा आकांक्षीले गृहसचिव सापकोटालाई भेटेर गुनासो गर्दा ‘बालुवाटारबाट सहमति लिएर आउनुस्’ भन्दै टारिदिएपछि उनीहरू चिन्तित देखिन्छन्। आकांक्षीमध्येका चौधरी र गौतमले शुक्रबार गृहमन्त्री थापालाई भेटेर बढुवा प्रक्रिया छिटो गरिदिन याचना गरेका थिए। थापाले सकभर आइतबारसम्म टुंग्याइदिने वचन दिएको उनीहरू बताउँछन्।

गृहसचिव सापकोटाले अहिले चौधरी र गौतमलाई बढुवा गर्दा तलको ‘ब्याच’ लाई असर गर्ने भन्दै टार्दै आएको स्रोत बताउँछ। ‘संगठनमा करिब ३० वर्ष सेवाअवधि पुर्‍याएर सम्मानित ढंगले अवकाश दिनुपर्नेमा ठीक उल्टो १२ पद खाली हुँदाहुँदै पनि बढुवा हुन नपाई अपमान भएर बाहिरिनुपर्ने अवस्था आयो’, एसएसपी चौधरीले भने, ‘प्रधानमन्त्रीकहाँ पुग्यो नाइँ भन्नुहुँदैन, गृहमन्त्री गर्छु भन्नुहुन्छ र सचिव मन्त्रीले माने गर्छु भन्नुहुन्छ। तर, कसैले गर्दैनन्। अब कति दौडने, थाकिसक्यौं।’ चौधरीले आफूलाई प्रहरी भन्दा गर्व महसुस हुनुपर्नेमा घृणा जागेको बताए। सरकारले पटक-पटक गरेर १२ डीआईजीको पद खाली राखेको छ। यसअघि असोजमा एक जना, मंसिरमा चार जना, पुसमा चार जना र माघमा तीन जना गरी १२ डीआईजीको पद खाली छ।

अघिल्लो सरकारले पद सिर्जना गरेर नयाँ दरबन्दी कायम गरेको थियो। यो सरकारले पहिलाको दरबन्दीअनुसार पदपूर्ति गर्न नसक्दा खाली ठाउँ रहँदा पनि अवकाश हुनुपर्ने अवस्था आएपछि प्रहरीभित्र मनोबल खस्किएको प्रहरी मुख्यालयका अधिकृत बताउँछन्। अघिल्लो सरकारको अकर्मण्यताका कारण एसएसपी मिलन बस्नेत, यादवराज खनाल र कृष्ण गौतमले पद खाली हुँदाहुँदै अवकाश पाएका थिए। गृह प्रवक्ता सुवेदीले प्रहरी बढुवा भन्नेबित्तिकै फ्याट्ट नहुने बताए।

उनले भने, ‘बढुवाका विधि र प्रक्रिया छन्। त्यही प्रक्रिया नमिलेरै बढुवा रोकिएको हो। प्रक्रियामा रहँदैका बेला कसैको उमेरहद नाघ्छ भने ऊ अवकाश हुन्छ। यो स्वाभाविक प्रक्रिया हो।’ तर, उनले बढुवा समितिले पनि यसबारे सोच्नुपर्ने बेला आएको बताए। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्