प्रदेश प्रमुखले रोके भारतीय गान



राजविराज : प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले राजविराजमा शनिबार आयोजित एक समारोहमा भारतीय राष्ट्रिय गान बजाउन रोक लगाएका छन्।

कायस्थ समुदायको जातिगत संस्था चित्रगुप्त सेवा समिति स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण जयन्ती महोत्सवमा भारतीय राष्ट्रिय गान बजाउने प्रयास भएको थियो। कार्यक्रममा विभिन्न जिल्लासहित भारतको विहारका विभिन्न जिल्लाका कायस्थ अगुवा आएका छन्। कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुवै देशको राष्ट्रिय गान बजाउने कार्यक्रम देखेपछि प्रदेश प्रमुख कायस्थले असन्तुष्टि जनाएको एक आयोजक सदस्यले बताए।

निर्धारित समयमै प्रदेश प्रमुख कायस्थ आए पनि भारतीय गानका कारण कार्यक्रम तीन घण्टा ढिलो गरेर उद्घाटन भएको थियो। उनको असहमतिपछि आयोजकले नेपाली राष्ट्रिय गान गरेर कार्यक्रम सुरु गरेको थियो।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव मो युसुफले आफूले नै कार्यक्रममा भारतीय राष्ट्रिय गान नराख्न आग्रह गरेको स्वीकार गरे। प्रदेश प्रमुखको आग्रहमा कार्यक्रमको सूचीबाट भारतीय गान हटाइएको जानकारी उनले दिए। संवैधानिक अंगका व्यक्ति मञ्चमा रहँदा भारतीय राष्ट्रिय गान गाउनु उचित नहुने भएकाले आयोजकलाई हटाउन आग्रह गरिएको उनले सुनाए।

महोत्सव सोमबारसम्म जारी रहने जनाइएको छ। घोषणापत्र जारी गरेर महोत्सव समापन हुने आयोजक समितिका महासचिव सतिशकुमार दत्तले जानकारी दिए। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्