नेपाली नयाँ वर्ष २०७५ नजिकिँदै छ। नयाँ वर्षले नेपालीहरू सबैमा एक किसिमको उमंग, योजना र सपना बुन्ने गर्दछ। कसैलाई गत वर्षमा आँटेका कुरा पूरा गर्न सकिएन भन्ने हीनताबोध हुन्छ भने कसैलाई आँटेको काम पूरा गरेरै छोड्छु भन्ने जोस चल्छ। त्यसैले नयाँ वर्षको सुरुआतसँगै संकल्प लिने, लिन्छु भन्ने र विगतका संकल्प पूरा गर्छु भन्ने विषयले व्यक्तिगत रूपमा एक किसिमको ऊर्जा दिने गर्छ।
नयाँ वर्ष र संकल्पको विज्ञान एवं मनोभावनाका बारेमा जिज्ञासा बढ्दै जाँदा पंक्तिकारलाई भने विगतमा हाम्रा प्रधानमन्त्रीहरू र मेयरहरूले गरेका संकल्प याद आयो। नेपाललाई सिंगापुर बनाउने संकल्प होस् या काठमाडौंलाई सय दिनभित्रै विश्वको नमुना विकसित, सभ्य र सुन्दर सहर बनाउने संकल्प। यस्तैयस्तै संकल्प जिम्मेवार व्यक्तिका मुखबाट बेलाबखत निस्कने गरेको हामीले सुनेकै हौं र छापामा पनि आएकै हुन्।
निर्वाचित र जिम्मेवार व्यक्तिले जनमानससमक्ष संस्थागतरूपमा बोलेका कुरालाई हावादारी, भ्रामक र सपनाका रूपमा लिनै मिल्दैन। ती संकल्प नै हुन्। सपना त निद्रामा देखिने कुरा हो। भाषणमै बोलेका कुरा संकल्प नै हुन्। उच्च पदमा पुगेका व्यक्तिले योजनाबद्ध विकासका प्रक्रिया अगाडि सार्नुलाई उच्चस्तरको शब्द संकल्प नै भन्नुपर्दछ, सपना भनेर जिम्मेवारविहीन बनाउन मिल्दैन। तर किन उनीहरूले आफ्नो संकल्प पूरा गरेनन् भन्नेचाहिँ आफ्नै ठाउँमा छ।
संकल्प कामलाई योजनाबद्ध रूपमा गर्छु र लक्ष्यमा पुग्छु भन्ने एउटा दृढ अठोट हो। बिनाउद्देश्य संकल्प लिइँदैन भने संकल्पबिनाको उद्देश्य पूरा पनि हुँदैन। मानिसका व्यक्तिगत सफलता हुन् या राष्ट्रका ती संकल्पका परिणाम हुन्, जो संकल्पको मार्गमा हिँड्यो, ऊ लक्ष्यमा पुग्न सफल भयो र जसले संकल्पको मार्गमा हिँड्न सकेन, ऊ असफल भयो। सफलताको विज्ञान नै यही हो। सफलताको सूत्र नै यही हो, जसले गरे पनि जुन राष्ट्रको मानिसले गरे पनि योजनाबद्ध रूपमा कर्म गरेको छ भने लक्ष्यमा पुग्छ, सफलता हात लाग्छ। तर किन हाम्रा नेताहरूले बोलेका कुरा पूरा गर्न संकल्पको बाटोमा हिँड्दैनन् ? ओशो भन्नुहुन्छ, निर्णय क्षमता र साहस दुवै भएको व्यक्तिले मात्र आफ्नो संकल्प पूरा गर्दछ। के यी दुवै गुण हाम्रा नेतृत्वगणमा नभएकै हो त ?
नेपाललाई सिंगापुर होइन, नेपाल नै जस्तो, शान्त, सौम्य, हराभरा, ऊर्जावान्, शीलवान् र जे छ आफैंमा पूर्ण अतुलनीय राष्ट्रका रूपमा चिनाउने संकल्प लिए पनि हुन्छ।
विकल्प नभएको अवस्था संकल्प हो। विकल्प अर्थात् विरोधाभास, यो गरौं कि त्यो गरौं हुनु या द्विविधामा पर्नु। संकल्प त निर्णय क्षमता र साहस हो। आत्मवान् भएर आफ्नो व्यक्तिगत फाइदाका लागि होस् या राष्ट्रको विकासका लागि दिशा तय गर्नु संकल्प हो। संकल्प एउटा नक्सा हो, बाटो देखाउने गाइड हो। कहाँ पुग्ने, लक्ष्य के हो, त्यसलाई संकल्पले पूरा गर्दछ। त्यसैले संकल्प लिनेले संकल्पको विज्ञान पनि बुझ्न जरुरी थियो। के उद्देश्य लिने र कसरी पूरा गर्ने त्यसमा प्रयत्नरत हुनुपर्दथ्यो। गरेर नहुने केही छैन। इच्छाशक्ति दृढ भयो भने जुन पनि आँटेको काम पूरा हुन्छ, चाहे त्यो सुन्दर सहर बनाउने होस्, नेपाललाई सिंगापुर बनाउने होस् या धूमपान, मध्यपान त्याग्ने र शरीरको तौल घटाएर राम्रो र स्वस्थ बन्ने नै किन नहोस्, कामका स्वरूप फरक होलान्, गर्ने विधि उही हो दृढ इच्छाशक्ति।
हो, संकल्प कहिलेकाहीं पूरा नहुन सक्छन् तर पूरा भएनन् भनेर छोडिदिनु या बोलेर मात्र छोडिदिनु गैरजिम्मेवारीपन हो। पूरा नभएका संकल्पलाई विगतबाट मुक्त भएर फेरि नयाँ संकल्पका साथ पूरा गर्छु भन्ने दृढ इच्छाशक्ति र अठोट भयो भने ती काम पूरा हुन्छन्, चुनौतीलाई अवसरको रूपमा लिएर, निरन्तर श्रम र प्रयत्न गरेर, आवश्यक परे सहयोग जुटाएर, सहयोग दाताको सहयोग लिएर आँटेको काम पूरा गर्न सकिन्छ। कामै नगरी पूरा हुने संकल्प र काम नै नगरी परिणाम हात लागेको उदाहरण अहिलेसम्म भेटिएको छैन सायद वास्तवमै गर्छु भन्नेलाई चुनौती पनि अवसर बन्न सक्छ।
लिखित योजना बनाएर, योजनालाई पनि संभाग छुट्ट्याएर कामलाई अगाडि बढाउन सकिन्छ। योजनालाई प्राथमिकताका आधारमा बाँडेर, कुन काम कसले गर्ने जिम्मा दिएर गर्न सकिन्छ। के कुरालाई पहिलो प्राथमिकता दिने, कुन कुरा अत्यावश्यक छ त्यति त छुट्ट्याउन पनि जान्नुपर्यो नि ! आफूले वास्तवमै गर्छु भनेको कामलाई प्रगाढ संकल्पसहित गर्न तल्लीन पनि हुनुपर्यो नि ! संकल्पको घोषणा गरिसकेपछि सहयोगका लागि अनुरोध गर्न र वातावरण मिलाउन पनि जान्नुपर्यो। कहाँनेर के कमी भएको छ मूल्यांकन गर्नुपर्यो। सीप, ढंग र विवेकको सँगसँगै प्रयोग हुनुपर्यो तब न संकल्प पूरा हुन्छ।
कुनै पनि काम किन सफल हुँदैनन् ? कि त पूरा नहुने संकल्प लिइयो, कि संकल्प पूरा गर्न सय प्रतिशत ऊर्जा दिएर लगिएन। मेरो काम या मैले बोलेका कुरा किन पूरा गरेको छैन ? कसैलाई ख्याल छ ? पटक्कै छैन, किनकि ख्याल हुन आत्मवान् हुनुपर्दछ। आफैंले आफैंलाई आत्मसुझाव दिन सक्ने खुबी हुनुपर्दछ। सकारात्मक सोच हुनुपर्दछ र मैले लिएको संकल्प बहुजन सुखाय, बहुजन हिताय भएकाले मैले गरेरै देखाउनुपर्दछ भन्ने समझको विकास हुनुपर्दछ।
गहिरो चिन्तन र सत्यम्, शिवम्, सुन्दरम्को भावना जागृत हुनुपर्दछ। नाम सुन्दर भएर के गर्छ ? आफ्नो सम्पूर्ण ऊर्जा लगाएर प्रचण्ड रूपमा कर्ममा प्रेरित हुनुपर्यो। नामअनुसारको काम भएमा न आदर्शवान् बन्न सकिन्छ। नेपाललाई सिंगापुर होइन, नेपाल नै जस्तो, शान्त, सौम्य, हराभरा, ऊर्जावान्, शीलवान् र जे छ आफैंमा पूर्ण अतुलनीय राष्ट्रका रूपमा चिनाउने संकल्प लिए पनि हुन्छ। भएको शान्ति खल्बलिन नदिएर यसमा निर्धक्क बाँच्न र भएका स्रोतसाधनको उचित प्रयोग गरेर आफ्नै गौरवमा बाँचे पुग्छ। (अन्नपुर्ण पोस्ट)