एक शिक्षकका भरमा विद्यालय



लहान : बरियारपट्टी गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालय ०६६ सालदेखि एक शिक्षकका भरमा सञ्चालित छ। विद्यालयमा कार्यालय सहयोगीसमेत छैन।

शिक्षक अभावका कारण पठनपाठन पनि प्रभावित बनेको अभिभावकको गुनासो छ। कक्षा १, २ र ३ का विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ। नौ वर्षदेखि ३ कक्षासम्मका छात्रछात्रालाई एउटै कोठामा राखेर पढाउँदै आएको प्रधानाध्यापक प्रमेश्वर यादवले बताए। दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालय धाउँदाधाउँदै हैरान बनेको उनको भनाइ छ।

‘जिल्ला शिक्षा कार्यालयमा कैयौं पटक लिखित निवेदन दिएको छु’, उनले भने, ‘तर, अहिलेसम्म दरबन्दी थप भएको छैन।’

गुणस्तरीय पठनपाठन नहुँदा विद्यार्थी संख्यासमेत घट्न थालेको जनाइएको छ। विद्यालयको रेकर्डअनुसार कक्षा १ मा २३, २ मा ३२ र ३ मा ३५ विद्यार्थी छन्। तर, पढ्न भने एकचौथाइ विद्यार्थी पनि आउँदैनन्। यो समाचारका लागि विद्यालय पुग्दा कक्षा १ मा ५ र २ मा ४ विद्यार्थी मात्र उपस्थित थिए। कक्षा ३ का ३५ विद्यार्थीमध्ये एक जना पनि पढ्न आएका थिएनन्।

विद्यालयमा दुईवटा कोठा छ। एउटा कोठा गोदामका रूपमा प्रयोग गरिएको छ भने प्रधानाध्यापक बस्ने अर्को कोठामै पठनपाठन हुन्छ। सोही कोठामा विद्यार्थीका लागि खाजासमेत पाक्छ। कार्यालय सहयोगी पनि नहुँदा आफैं खाजा पकाउने गरेको यादवले सुनाए। विद्यार्थी बसेकै ठाउँमा ग्यास बालेर खाजा पकाउनुपर्दा डर लाग्ने गरेको उनले बताए।

एकै ठाउँमा राखेर पठनपाठन गराउँदा विद्यार्थीले गुणस्तरीय शिक्षा पाएका छैनन्। स्थानीय ६ वर्षीय अभिनास यादव कक्षा २ मा पढ्छन्। तर, उनलाई आफ्नो नाम नै लेख्न आउँदैन। प्रधानाध्यापकले पनि शिक्षक अभावमा गुणस्तरीय शिक्षण गराउन नसकेको स्वीकार गरे।

‘३ कक्षा सञ्चालन गर्न कम्तीमा तीन शिक्षक हुनुपर्नेमा म एक्लै भएकाले गुणस्तरीय शिक्षा दिन सकेको छैन’, उनले भने।

विद्यालय स्थापनाको नौ वर्ष बिते पनि एक जना मात्र शिक्षक हुनु विडम्बना भएको स्थानीय वीरेन्द्र यादवले बताए। उनले एक शिक्षक हुँदा अधिकांश दिन विद्यालय बन्द रहने गरेको गुनासो गरे। भने, ‘शिक्षक आएको दिन पनि सबै विषय पढाइ हुँदैन।’ शिक्षक दरबन्दी थपेर पढाइ सुधार्न सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले शिक्षक अभावका कारण दरबन्दी थप गर्न नसकिएको बताए। ‘केही विद्यालयमा बढी शिक्षक छन्, केहीमा शिक्षक नै छैन्’, उनले भने, ‘दरबन्दी मिलान नहुँदा समस्या भएको हो। अब दरबन्दी मिलाउने काम गर्छु।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्