जंगलभित्र अपांगतामैत्री पदयात्रा मार्ग



पोखरा : अपांगता भएका व्यक्तिलाई ह्विलचियरमा सहरका सडकमा गुड्न अति असजिलो छ। यसै त अपांगतामैत्री सडक छैन। जसोतसो गुड्दा पनि अरू सवारी र पैदलयात्रुले सजिलो बनाइदिँदैनन्। ह्विलचियरमा गुड्दा पनि मिचाहा प्रवृत्तिको सामाना गर्नुपर्छ।

अरू कसैले हस्तक्षेप सामान नगरी ह्विलचियरमा गुड्ने हो भने अपांगता भएका व्यक्ति पोखरा आउँदा हुन्छ। पोखरा महानगरपालिकाको वडा नं २४ कास्कीकोटदेखि अन्नपूर्ण गाउँपालिकाको नौडाँडासम्म ह्विलचियर पदमार्ग तयार भएको छ। पर्यटन बोर्डसमेतको लगानीमा निर्मित मार्गको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शनिबार उद्घाटन गरे।

जंगलको बीचैबीच हिमाल हेर्दै र टहलिँदै यो मार्गमा ह्विलचियर गुडाउन सकिन्छ। यहाँ अरू मोटर गाडी आउन निषेध छ। अपांगता भएका व्यक्तिहरूले प्रकृतिसँग साक्षतकार गर्दै ह्विलचियर गुडाउन सकून् भनेर यो मार्ग निर्माण भएको हो। अपांगता भएका देशभित्र र बाहिरका पर्यटकलाई लक्ष्य गरी निर्मित मार्ग अहिले साढे एक किलोमिटर छ। केही समयपछि भने ३ किलोमिटर पूरा हुनेछ।

अफगानिस्तानमा सन् २०१० मा विद्युतीय धरापमा परेर दुई खुट्टा गुमाएका रोल्पाका ३८ वर्षीय हरि बुढा मगर त्यही पदमार्गमा ह्विलचियर गुडाउन पाउँदा औधि खुसी देखिए। अञ्जना केसी त्यसरी नै खुसी भएकी अर्की पात्र थिइन्। बुढामगरले ह्विलचियरमैत्री शौचालयसमेत मार्गमा निर्माण भएकोमा झन् खुसी लागेको सुनाए।

पहिलोपटक अपांगतामैत्री पदयात्रा मार्ग पोखरामा बन्नुले अपांगता भएका व्यक्तिमाझ खुसी छाएको ह्विलचियरमा पदयात्रा मार्गमा गुड्दै गरेका स्वालम्वन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेमन गुरुङले बताए। ह्विलचियरमै पदयात्रा गरिरहेकी सीता केसीले भनिन्, ‘अन्नपूर्ण र धौलागिरि हिमालको अवलोकन गर्दै हिँड्न पाउँदा धेरै आनन्द हुनेछ।’

जंगलको बीचैबीच हिमाल हेर्दै र टहलिँदै यो मार्गमा ह्विलचियर गुडाउन सकिन्छ।

मन्त्री अधिकारीले अपांगतामैत्री पदयात्रा मार्गले विश्वका अपांगता भएका र वृद्ध उमेरमा पनि पदयात्रा गर्न रहर भएका पर्यटकलाई आकर्षण गर्ने विश्वास गरे। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपांगतामैत्री पदयात्रा मार्ग दक्षिण एसियामै पहिलोपटक नेपालमा बनेको जानकारी दिए। ‘यो पदयात्रा मार्गले विश्व पर्यटन बजारमा नेपालमा विशेष पर्यटन गन्तव्य रहेको सन्देश दिन्छ,’ उनले भने। पछिल्लो समयमा दृष्टि गुमाएका अपांग धेरैभन्दा धेरै पर्यटक पदयात्रामा जान चाहन्छन्, तिनै देशी÷विदेशी पर्यटकलाई लक्ष्य गरी पदयात्रा मार्ग बनाइएको उनले सुनाए।

पदयात्रा मार्गमा दायाँबायाँ बार बन्देज गरिएको छ। ह्विलचियर प्रयोग गर्ने र दृष्टिविहीनले समेत सुरक्षित यात्रा गर्न सक्ने र पदयात्रा मार्गमा शौचालयसमेत निर्माण भएको नयाँ पर्यटकीय पदमार्ग निमार्ण तथा संरक्षण समितिका अध्यक्ष विष्णुहरि शर्माले बताए। पर्यटन बोर्डको १९ लाख रुपैयाँको लागतमा पहिलो चरणमा पदयात्रा मार्ग निर्माण भएको हो। स्थानीयको समेत संलग्नतामा पदयात्रा मार्गको विस्तार गरिने पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए।

गाउँमा एसियामा पहिलो अपांगमैत्री पदयात्रा मार्ग बनेकोमा गाउँलेले खुसी मनाउँदै बाजागाजासहित पर्यटन मन्त्री र अतिथिलाई फूलमालाले स्वागत गरेका थिए। ‘पहिले अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटक यही बाटो हुँदै हिँड्थे, बागलुङ जाने सडक निर्माणपछि पर्यटकको आगमन नयाँ पदयात्रा मार्गले पुर्‍यो,’ स्थानीय गोमा विकले भनिन्, ‘पदयात्रा मार्गले हाम्रो गाउँको दिने आउने विश्वासमा छौैं।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्