धुर्मुस–सुन्तलीले गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने



काठमाडौं, १८ चैत

हाँस्य कलाकार भन्दा पनि सामाजिक अभियन्ताका रुपमा चिनिन थालेका सीताराम कट्टेलले बिहिबार ‘धुर्मस सुन्तली फाउण्डेशन’ले ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउने घोषणा गरेपछि यो समाचार समाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

यसअघि नमुना बस्ती बनाउँदै गर्दा देउता बराबरको सम्मान दिएका सर्वसाधारणले फेरि उनको अभियानमा न्यानो स्वागत जनाएका छन् ।

फेसबुकमा सीतारामका लागि आएका प्रतिकृयाहरु यस्ता छन् ।

 

 

सामाजिक सञ्जालबाहेक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेपछि जिल्ला–जिल्लाबाट सीतारामलाई फोन आउन थालेको छ । अधिकांशले अन्तराष्ट्रिय क्रिकेट मैदान आफ्नै ठाउँमा बनाउनु पर्यो भन्दै फोन गरिरहेका छन् । सीतारामले हामीसँगको छोटो कुराकानीमा भने, ‘यसले हामीलाई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि उर्जा थपिदिएको छ ।’

सीताराम र उनकी जीवनसंगीनी कुञ्जनाले नेतृत्व गरिरहेको संस्था धुर्मस सुन्तली फाउण्डेशनले यसअघि भूकम्प पीडितका लागि ३ वटा र बाढी पीडितका लागि १ वटा गरी ४ वटा नमुना बस्ती बनाइसकेको ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले यसअघि नै घोषणा गरेको ‘नमुना नेपाल’को काम स्थगित गरेर अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने तयारी गरेको छ ।

‘हामी अहिले प्रारम्भिक छलफलमा छौँ । कहाँ बनाउने ? कति क्षमताको बनाउने, कस्तो बनाउने भन्ने विषयमा यतिबेला खेलाडी, पत्रकार, व्यवसायी, विभिन्न सरकारी निकाय, सांसद र प्रदेश सरकारसँग छलफल गर्दैछौँ । यसैको सिलसिलामा शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग मैले समय मागेको छु उहाँले हुन्छ भन्नु भएको छ ।’ कुराकानीमा बिट मार्दै धुर्मुसले भने, ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले बनाउने प्रस्तावित क्रिकेट स्टेडियमको नाम‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’ प्रस्ताव गरिनेछ ।’

‘यसले भगवान गौतम बुद्धको जन्मस्थानलाई लिएर भइरहेको बहसलाई संसारभर गौतम बुद्ध नेपालकै हुन् भन्ने चिनारीलाई अझ मजबुत बनाउन सक्नेछ । त्यसैले पनि प्रस्तावित क्रिकेट मैदानको नाम ‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’ राखिएको हो ।’

अब छिट्टै एउटा निर्माण समिति गठन गरेर दाताहरुको निर्माण सल्लाहकार टोली बनाउने र कामको सुरुवात गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्