काठमाडौं, १८ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले सुत्ली बम र चन्दाको कुनै सिद्धान्त नहुने र त्यसले जनताको जीवनमा परिवर्तन नआउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कोही सिद्धान्तवादी बनेर क्रान्तिकारी पल्टेका छन् । सुत्ली बमको कुनै सिद्धान्त हुन्छ ? चन्दाको कुनै सिद्धान्त हुन्छ ?’ ओलीले भने, ‘साथीहरु कुन किताब पढ्छन् कुन्नि ? जनताले दुख पाउने, गरीबी रहिरहने सिद्धान्त पनि मार्क्सवाद हुन्छ ? थोत्रा किताबभन्दा जनताको जीवन पढ्नुस् ।’
‘मलाई पक्राउ पूर्जी ? प्रचण्डजीलाई वारेण्ट ? प्रचण्ड कुन्नि कुन गाउँ हो, सात दिनभित्र त्यहाँ जानुपर्ने ? केटाकेटी खेलको पनि हद हुन्छ, यो हद भयो । विप्लवले केटाकेटी खेल नखेल्दा हुन्छ’ ओलीले भने ।
ओलीले भने, ‘देशमा केही गरौं, अरुले भन्दा नयाँ गरौं । रासायनिक होइन, जैविक मलका कारखाना खोलौं, अर्गानिक नेपाल बनाऔं । इ–सेवाबाट काम गरौं । विज्ञान, प्रविधिमा भर परौं । धर्म मान्नेले मानौं, नमान्नेले नमानौं । तर, अब देशलाई आधुनिकतामा लैजाऔं । यो पो सुल्टो बुद्धि हुन्छ ।’