एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ
मैले कास्कीमा रहेको ब्रह्मज्योति प्राथमिक विद्यालयबाट विद्यार्थीजीवनको सुरुवात गरेँ । कक्षा ३ सम्मको शिक्षा त्यहीँबाट हासिल गरेपछि शान्ति उदय माविमा गएर कक्षा ४ मा भर्ना भएँ । त्यहीँबाट ०४१ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसवेला थोरै विद्यार्थी हुन्थे । त्यसैले एसएलसी उत्तीर्ण हुने पनि थोरै भए । यसरी त्यसवेला एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण हुँदा गाउँघरमा मेरोबारेमा निकै चर्चा भएको थियो । म कक्षा ८ मा पढ्दा विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भइसकेको थिएँ ।
साइन्समा भर्ना भएँ, म्यानेजमेन्ट पढेँ
एसएलसी उत्तीर्ण भएपछि म कलेज अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा भर्ना भएँ । सुरुमा साइन्स विषयको अध्ययनका लागि भर्ना भएको थिएँ । तर, विद्यालय तहदेखि नै राजनीतिमा सक्रिय हुन थालेकाले साइन्स विषय पढ्न सकिनँ । अनि कलेजका सरहरूले नै म्यानेजमेन्टतिर राखिदिनुभयो । यही विषय अध्ययन गरेँ । त्यहीँबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेँ ।
विद्यालयमा पढ्दा नै छुवाछुतविरुद्धको अभियान
घरपरिवारको मलाई डाक्टर बनाउने इच्छा थियो । तर, विद्यालयदेखि नै विभिन्न सामाजिक काममा संलग्न हुन थालेकाले मेरोचाहिँ डाक्टर बन्ने इच्छा थिएन । हामी विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप गथ्र्यौँ । विद्यालयमा पनि अखिलको प्रभाव थियो । अर्को कुरा, हाम्रो विद्यालयमा खानेपानी घैँटोमा बोकेर ल्याउनुप¥थ्यो । तर, तल्लो जातका मानिने विद्यार्थीले चाहिँ आफैँले पानी निकालेर खान पाउँदैनथे । हामी त्यो छुवाछुतविरुद्धमा लाग्यौँ । अनि तल्लो जातका भनिने विद्यार्थी साथीले पनि आफैँले घैँटोबाट पानी निकालेर खान सक्ने भए । यसरी हामीले विद्यालयमा पढ्दा नै छुवाछुतविरुद्धको अभियान चलाएका थियौँ ।
०४९ मा पिएन र ०५३ मा त्रिविमा स्ववियु सभापति भएँ
कलेज भर्ना भएपछि पनि म फेरि अखिलकै राजनीतिमा सक्रिय हुन थालेँ । त्यसपछि ०४३ मा पिएन क्याम्पस अनेरास्ववियु कमिटीको सदस्य भएँ । ०४६ मा कास्की जिल्ला कमिटी अध्यक्ष भएँ । त्यस्तै, ०४६ सालमै अञ्चलको अध्यक्ष भएँ । त्यसपछि ०४७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएँ । ०४५ देखि नै कलेजको स्वतन्त्र विद्यार्थी युनियनमा थिएँ । त्यसैले ०४९ मा पिएन क्याम्पसको स्ववियु सभापति भएँ । त्यसपछि ०५१ मा फेरि स्नातकोत्तर अध्ययनका लागि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर भर्ना भएँ । त्यहाँको पनि ०५३ मा स्ववियु सभापति भएँ । यसरी संगठनको विभिन्न तहमा रहेर काम गर्दै गर्दा ०५६ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएँ ।
राजनीतिमा प्रवेश गरेको पत्तै भएन
विद्यार्थीजीवनदेखि विकृतिविरुद्ध लड्ने मेरो स्वभाव थियो । यसको विरुद्धमा काम गर्दै जाँदा मैले धेरै रचनात्मक काम पनि गरेँ । बिस्तारै मेरो ध्यान राजनीतितर्फ जान थाल्यो । यसका साथै अखिलमा पनि संगठित भएँ । तर, कतिवेला राजनीतिमा प्रवेश गरेँ पत्तै भएन । यसरी निरन्तर राजनीतिमै सक्रिय हुन थालेँ । जसले गर्दा परिवारको मलाई डाक्टर बनाउने चाहना पूरा हुन पाएन ।
सक्रिय राजनीति नगरोस् भन्ने परिवारको चाहना
परिवारको म डाक्टर भएको हेर्ने चाहना थियो । तर, म राजनीतितर्फ सक्रिय हुन थालेपछि बुवाममीको गुनासो आउँथ्यो । बुवाले राजनीतिलाई गहिरोसँग बुझ्नुभएकाले राजनीतिमा लागोस्, तर सक्रिय नहोस् भन्ने चाहनुहुन्थ्यो । अर्को कुरा राजनीतिमै सक्रिय भए तापनि पढाइचाहिँ पूरा गरोस् भन्ने चाहनुहुन्थ्यो । मैले आफ्नो पढाइलाई पूरा गरेँ । साथै, राजनीतिलाई पनि अघि बढाएँ ।
कलेजमा कसैसँग झगडा गरिनँ
विद्यार्थी राजनीतिमा सक्रिय रहँदा कहिलेकाहीँ विद्यार्थी संगठनबीचमा झडप पनि हुन्थे । तर, मेरोचाहिँ पहिल्यैदेखि झगडा गर्ने स्वाभाव थिएन । कलेजमा प्रायजसो अखिल र नेविसंघको झगडा परिरहन्थ्यो । नेविसंघका साथीहरूले मलाई पिट्दैनथे । म कलेजमा भएको झगडा छुट्याउँथेँ । अनि दुवैतर्फलाई मिलाउँथेँ ।
कलेज पढ्दा प्रेमपत्र धेरै आए
कलेजमा अध्ययन गर्दाका दिनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रेमप्रस्तावहरू आउँथे । तर, कसैसँग दोहोरो प्रेम बसेन । कतिपय केटी साथीले प्रेमपत्र पठाउनुहुन्थ्योे । तर, म राजनीतिमा सक्रिय भएकाले ती पत्रहरू पढ्ने फुर्सद हुँदैनथ्यो । अर्को कुरा मलाई प्रेममा चासो पनि थिएन । (नयाँ पत्रिकाबाट)