डीपीएलमा पारसको टिम विराटनगर महेन्द्रनगरसँग हार्‍यो



काठमाडौँ: धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतवार भएको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको छ ।

धनगढीस्थित संघीय ईकाई प्रहरीको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६८ रन बनाउन सफल भएको थियो ।

महेन्द्रनगरका लागि पाहुना खेलाडी पुनित मेहराले नटआउट ३८ रन बनाए भने हरिशंकर शाहले १९ रन जोडे । कप्तान विनोद भण्डारीले ३५ रन बनाए । त्यसैगरी पुनित विष्टले २४ र आरिफ शेखले २४ रनको योगदान दिए । गतिलो सुरुवात गरेका महेन्द्रनगरका ओपनरले पहिलो विकेटका लागि ५० रनको गतिलो साझेदारी गरे ।

ओपनरले शानदार सुरुवात गरेको अवस्थामा महेन्द्रनगरले थप रन जोड्न नपाउँदै लगातार दुई विकेट गुमाउन पुग्यो । उता बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा पारस खड्का र सुभम् कामतले समान एक-एक विकेट लिए ।

जवाफमा विराटनगर १९ ओभरमा एक सय ३५ रनमै अलआउट हुन पुग्यो । जवाफी इनिङमा विराटनगरले उत्कृष्ट सुरुवात गर्न सकेन । उसले २९ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाउन बाध्य भयो ।

विराटनगरका पृथु बास्कोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यसैगरी पाहुना खेलाडी बाबर हायातले ३२ रन जोड्न सफल भए ।

विराटनगरका लागि अनिलकुमार शाहले २३, कप्तान पारस खड्काले १६ र दिलिप नाथले १० रन बनाउन सफल भए । विराटनगरका अन्य खेलाडीले दोहोरो स्कोर गरेनन् ।

आजै भएको पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्समाथि नौ विकेटले प्रभावशाली जित निकालेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार सिवाईसी अत्तरिया र टिम चौराहा धनगढीबीच पहिलो खेल हुनेछ । त्यसैगरी दोस्रो खेलमा काठमाडौँ गोल्डेन्स् र रुपन्देही च्यालेञ्जर्स आमनेसामने हुनेछन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्