परासी : सुनौली नाका नजिकको भारतीय क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सर्तकता अपनाउन थालिएको छ।सुनौलीस्थित बेलहिया नाकासँग सीमाना जोडिएको भारतको महारजगञ्ज जिल्लामा बर्डफ्लु देखिएको जानकारी आएपछि नवलपरासीसहित रुपन्देहीमा उच्च सर्तकता बढाइएको हो।
सुनौली नाकाबाट ३ किमिको दूरीमा रहेको भारतको निचलौल वरपर क्षेत्रमा बड्फ्लु देखिएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएका छन्।त्यसलगत्तै भारतीय सीमासँग जोडिएका नेपालका दुई जिल्लामा जिल्ला पशुसेवा कार्यालयसहित सुरक्षाकर्मीको बैठक बसेर उच्च सर्तकतासहित निगरानी बढाइएको हो।
बर्डफ्लुबारे जानकारी दिन आइतबार परासीमा बसेको पशु चिकित्सक, सुरक्षाकर्मी, पंक्षिपालक संघ र सरोकारवालाको संयुक्त बैठकले नवलपरासीका नाकाहरुमा निगरानी बढाउँदै अवैधरुपमा आउने पंक्षी र पंक्षीजन्य पदार्थमा पूर्ण रोक लगाउने निर्णय गरेको हो।
‘शनिबार भारत महाराजगञ्जका डिएम (प्रमुख जिल्ला अधिकारी)ले रुपन्देही प्रमुख जिल्ला अधिकारीलाई निचलौल वरपर क्षेत्रमा बर्डफ्लु देखिएको र नेपालमा सर्तकता अपनाउन जानकारी दिएकाले नवलपरासीमा सरोकारवालाको बैठक बसेर निगरानी र रोकथामसहित सर्तकता अपनाउने निर्णय गरिएको छ’ जिल्ला पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शिवप्रकाश अर्यालले भने।
बर्डफ्लुपछि रुपन्देहीमा कडाई हुन थालेपछि कारोबारीले नवलपरासीको नाका प्रयोग गर्न सक्ने संभावना बढेकाले सावधानी अपनाउन आवश्यक रहेको र त्यसबारे व्यापाक जनचेतना जगाउन स्थानीय तहहरुलाई समेत अनुरोध गर्ने निर्णय भएको अर्यालले बताए।
माघदेखि बैशाखसम्म बर्डफ्लु फैलिन सक्ने समय भएकाले जिल्लामा रहेका ह्याचरी र पंक्षिपालक संघलाई जैविक सुरक्षा प्रणाली अपनाउन पशु चिकित्सकहरुले सुझाव दिएका छन्।
जिल्लाको महेशपुर, भूजहवा, गुठिप्रसौनी, विस्नुपुरा, त्रिवेणी, झोलनीपुर, गेर्मी, हरपुरलगायतका नाकाहरु भारतसँग सीमाना जोडिएका नाका हुन्। त्यस क्षेत्रमा शसस्त्र र नेपाल प्रहरीलाई उच्च सर्तकतासहित निगरानी बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। (अन्नपुर्ण पोस्ट)