भारतसँग नयाँ सम्झौता गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा नयाँ सम्झौता नहुने बताएका छन् । भ्रमण पुराना सम्झौतालाई नै अगाडि बढाउने विषयमा केन्द्रित हुने र संयुक्त विज्ञप्ति नै सकेसम्म छोटो बनाइने उनको भनाइ छ । याे समाचार अाजाकाे कान्तिपुरमा छापिएकाे छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

भारतका तर्फबाट घोषणा भएमा भने आवश्यकता र सहयोगको प्रकृति हेरेर स्वीकार गर्न सकिने उनको भनाइ छ । कतिपय विषय प्रबुद्ध व्यक्ति समूह ‘ईपीजी’मा पनि छलफल भइरहेको र त्यो सकारात्मक चरणमा रहेको मन्त्री ज्ञवालीले बताए । सीमा तथा जलविद्युत् परियोजनाबारे पनि भ्रमणमा छलफल हुने उनले बताए । सुस्ता र कालापानीको विवाद नसल्टेसम्म सरकारले हस्ताक्षर नगर्ने उल्लेख गर्दै ज्ञवालीले भने, ‘सीमाका विषयमा हामी सचेत हुनैपर्छ । अन्य सहकार्य पनि विनविनमा हुनेछ ।’

खासगरी भारतले दिने र नेपालले लिने भन्ने परिभाषा नै त्याग्नुपर्ने उनको धारणा छ । ‘नेपालमा जति भारतीय छन्, त्यति नै वा थोरै मात्र बढी नेपाली भारतमा होलान् । भारतमा जति रकम नेपालबाट जान्छ, त्यति रकम भारतबाट नेपाल भित्रँदैन,’ उनले भने, ‘यसैले हामी दिने र लिनेभन्दा पनि एकअर्कामा इन्टरलिंक भएका मुलुक हौं ।’

दुई देशबीच रहेका विवाद सम्बोधन गर्दै विकासमा सहकार्य गरिने उनले बताए । उनले संविधानअघि र संविधानपछिको नेपाललाई ख्याल गरेर सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए । भारतसँग सुध्रिँदो सम्बन्ध थप राम्रो हुनेमा विश्वास व्यक्त गर्दै ज्ञवालीले भने, ‘हामीलाई भारत जति चाहिन्छ, भारतलाई पनि हामी उति नै आवश्यक छ । यो सन्देश दिएर हामीले सम्बन्धको व्याख्या र सोच नै परिवर्तन गर्न आवश्यक छ ।’ यतिबेला प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको र केही समयपछि अर्को छिमेकको पनि भ्रमण हुने उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘उताबाट पनि नेपालतर्फ भ्रमण गराउनेछौं । एकोहोरो भ्रमणमा मात्र हामी निर्भर हुँदैनौं ।’

भारत तथा चीनसँग रोकिएका परियोजना र सहकार्यलाई ती देशसँगैका छलफलबाट अघि बढाइनेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्