उपचार पाए, कुरुवा पाएनन्



काठमाडौं: गोदावरी नगरपालिका– १२ का एचआईभी संक्रमित टीका विकले उपचार पाउने भएका छन् । विभिन्न संस्थाहरूको सहयोगमा ५१ वर्षीय टीकालाई आइतबार धनगढीस्थित सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उनको साथमा कुरुवा छैनन् । आफन्त आउन नमानेपछि संस्थाहरूले बिना कुरुवा भर्ना गरिदिएका हुन् । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उक्त नगरपालिकाका वडा १०, ११ र १२ ओलानी गाउँका घरघरै संक्रमित छन् । उनीहरू उपचार अभावमा थला परेका छन् । २५ जना बालबालिका संक्रमित छन् । एकल महिला पनि पीडित छन् । कान्तिपुरमा ‘घरघरै बम्बैया रोग’ शीर्षक समाचार प्रकाशित भएपछि विभिन्न संस्थाहरूले पीडितप्रति चासो देखाएका छन् ।

सेती अञ्चल अस्पताल एआरटी सेन्टर, एड्स हेल्थ केयर फाउन्डेसन नेपाल ९एएचएफ० र संक्रमितहरूकै संस्था ‘गोदावरी प्लस’ ले संक्रमित टीकालाई उपचारका लागि आइतवार अस्पताल भर्ना गरे। अस्पतालका एआरटी सेन्टर प्रमुख लोकराज पनेरूले बिरामीको सम्पूर्ण स्वास्थ्य जाँच निस्शुल्क गरिने बताए ।

‘हामीले निस्शुल्क उपचार गरिरहेका छौं,’ उनले भने, ‘यहाँ निको नहुने अवस्था आएमा चिकित्सकको सल्लाहमा काठमाडौं रेफर गर्छौं ।’ उनले बिरामीका कुरुवा नआएकाले समस्या भएको बताए । ‘उपचारमा रहेका बिरामीका साथमा २४ सै घण्टा कुरुवा चाहिन्छ,’ उनले भने, ‘अस्पतालबाटै बिरामीको सबै ‘केयर’ गर्न सकिँदैन ।’

बिरामी टीकाका छोराबुहारी भए पनि हेरचाह गर्न अस्पताल नआएको गोदावरी प्लसका अध्यक्ष दिलबहादुर विकले बताए । ‘बिरामीलाई अस्पताल ल्याउने बेला घरमै रहेका छोराबुहारी साथमा आउन मानेनन्,’ उनले भने, ‘घरमा पनि छोराबुहारीबाट उनले स्याहार पाउँदैनन् ।’

गत कात्तिक महिनामा एचआईभीकै कारण पत्नीको मृत्यु भएपछि टीका थलिएका थिए । १२ वर्षीय कान्छो छोरा मुकेशको गत मंगलबार मृत्यु भयो । पत्नी र छोराको एचआईभी एड्सकै कारण मृत्यु भएपछि उनी झनै ठूलो शोकमा डुबेका छन् । आमाको मृत्युपछि उचित स्याहार नपाएका मुकेशको अन्तिम संस्कारमा बाबु टीका आफैं सहभागी हुन पाएका थिएनन्।

अस्वस्थ भएकाले सहभागी नभएको छिमेकीले बताए।

टीका जस्तै उपचार नपाएर घरमै थलिएकी गोदावरी नगरपालिका–११ ओलानीकै जानकी चुनाराको उपचारमा भने समस्या रहेको एआरटी सेन्टर प्रमुख पनेरूले बताए । ‘जानकीमा पाठेघर क्यान्सर रहेछ,’ उनले भने, ‘यहा क्यान्सरको उपचार हुँदैन । काठमाडांै पठाएपनि अप्रेसन गर्न मानिनन।’ एएचएफका क्षेत्रीय संयोजक माधवराज पन्तले गोदावरी ओलानीका एचआईभी संक्रमितको उपचारमा आफ्नो संस्थाले सघाउने बताए ।

प्रतिक्रिया दिनुहोस्