यी मेयर जसले गाडी सुविधाका लागि दिएको बजेटले सडक बनाए



काठमाडौं, १९ चैत

स्थानीय मेयर, उपमेयर, वडा अध्यक्षहरु विभिन्न मामिलामा विवादमा आइरहेको बेला कमल बजार नगरपालिकाले भने जनतामा आशा जगाउने काम गरेका छन् ।

अछामको कमल बजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले मेयर चढ्ने भनेर छुट्याइएको ६० लाख रकमले नगरपालिकाभित्र सडक निर्माण गरेका हुन् । उनले ६० लाखमध्ये ४० लाखले कमल बजारदेखि गैरीटाँडसम्म ८ किमी सडक स्तरोन्नति गरेका छन् ।

बचत रहेको २० लाख रकम नगरका बाँकी सडक स्तरोन्नति गर्न खर्च गर्ने बिष्टले बताए । उक्त रकम स्थानीय सडक स्तरोन्नतिका लागि खर्च गरेपछि स्थानीयमा खुसी छाएको छ ।

जनता सार्वजनिक गाडी चढ्ने बाटो नभई आफू गाडी नचढ्ने बिष्टले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘जनता हिड्ने बाटो छैन, हामी मेयर, उपमेयर व्यक्तिगत गाडी चढेर नगरपालिका बन्दैन’ उनले भने ।

७५३ वटै स्थानीय तहका प्रमूख, उपप्रमूख व्यक्तिगत सुविधामा होडबाजी गरिरहेका बेला बिष्टले नमूनायोग्य सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्