काठमाडौं, १९ चैत
केही सपना हास्यास्पद नै हुन्छन् । केही सपना सुन्दा आनन्ददायी हुन्छन् तर व्यवहारमा उतार्न कठिन हुन्छ । अनि केही सपना सुन्दा पागलपनको झलक आउँछ । नेपाली साहित्यमा एकै साथ यी सबै खालका सपना देख्ने मान्छेलाई चाहिँ के भन्ने होला ?
‘व्यवहारमा उतार्न कठिन’ र ‘पागलपनको झल्को आउने’ यस्तै ‘कठिन’ सपना देखिरहेका छन् कमल ढकाल । सुरुमा पत्रकार, त्यसपछि घोस्ट राइटर, अनि लेखक हुँदै व्यवसायी बनेका कमल आजभोलि साहित्यको यस्तो सपना देख्दै छन्, जुन कुनै काल्पनिक उपन्यास जस्तै रोमाञ्चक मात्रै होइन, दुस्साहसी पनि छ ।
साहित्यिक समग्री पढ्न बानी परेका हाम्रा पाठकहरूका लागि यस्ता ‘अप्ठ्यारा’ मानिससँगका कुराकानी पढ्न रमाइलै हुन्छ भन्ने ठानेर अनलाइनखबरकर्मी अश्विनी कोइराला कमल ढकाललाई भेट्न उनको लेखन कुञ्ज पुगेका थिए ।
‘लेखन कुञ्ज’ काठमाडौंको महँगोमध्येको एक मानिने बानेश्वर नजिकै सिडियो टोलमा दुई रोपनी क्षेत्रमा फैलिएको छ । यहाँ बाँसबाट बनेका तर आधुनिक सुविधा भएका साना-ठूला गरेर ७ वटा घर छन् । ती घरहरूका लागि मात्रै डेढ करोड रूपैंयाँ खर्च गरिएको छ ।
जहाँ आधुनिक नाट्यघर, आधुनिक पुस्तकालय, क्याफे, अध्ययन-अध्यापन कक्ष र सेलिब्रेटी कक्षहरू छन् । यी सबैमा नेपाली कलाका सम्पूर्ण क्रियाकलाप भइरहेका छन् । र
रमाइलो कुरा, यसका लागि मासिक लाखौं रूपैंयाँ खर्च हुन्छ । यी सबैको खर्च ढकाल आफैं उठाउँछन् । सरकारी-गैरसरकारी कतैबाट कुनै सहयोग नलिई सञ्चालन भइरहेको यो संस्थामा अहोरात्र खटिरहेका भेटिन्छन्, यिनै हँसमुख ढकाल ।
तपाईं त मुस्कुराइरहनु भएको छ !
यति राम्रो काम गर्न पाएको छु । यो भन्दा आनन्दको कुरा अरू छैन । नमुस्कुराएर के गर्नु ?
साहित्य जगतका मानिसहरू तपाईंलाई ‘पागल’ भन्न थालेका छन् भन्ने थाहा छ ?
यो कुन ठूलो कुरा भयो र ? हिजो लक्ष्मीप्रसाद देवकोटालाई पनि यही समाजले पागल भनेको होइन ? फरक के छ भने देवकोटाले चित्त दुखाए र ‘पागल’ कविता लेखे । मैले म पागल होइन, उद्योग चलाएको हो भनेर खटिरहनुपरेको छ ।
मानिसहरू के पनि भन्छन् भने कमल ढकालसँग पैसा धेरै भयो, पैसा सक्ने ठाउँ पाएन… ।
पैसा कमाउनेहरूलाई थाहा हुन्छ, पैसा खर्च गर्न कति गार्हो हुन्छ । जति पैसा कमाउँदै गयो, उति लोभ बढ्दै जान्छ । नेपाल गरिब होला तर पैसाका हिसाबले विश्वको धनीहरूको सूचीमा परेका नेपाली छन् । तर, पैसा सक्नका लागि कसले साहित्यमा लगानी गरेको छ ? यस्ता कुरा पैसाले संसार कसरी चलाएको छ भन्ने नबुझ्ने मानिसले गर्ने हल्ला हो ।
मैले साहित्य पनि उद्योग हुनसक्छ भनेर लगानी गरेको हुँ । धेरैले साहित्यलाई काम नलाग्ने, फाल्तु वस्तु ठानिरहेका छन् । साहित्यकार भनेका झुत्रा-झाम्ा्रा, जहाँ भेटे पनि आफ्ना रचना सुनाइहाल्ने, अलिकति मानिसिक स्थिति बिग्रेका बेरोजगार मान्छे भन्ने ठानिरहेका छन् ।
मैले साहित्यकारलाई बौद्धिक, अध्ययनशील, आफैंमा मस्त हुने र संसारलाई आनन्दित तुल्याउने यो देशका सबैभन्दा इमान्दार नागरिक देखिरहेको छु । र, त्यस्ता सबै लेखकहरू मेरा साझेदार हुन् । फरक कति छ भने हिजोसम्म उहाँहरूलाई कसैले प्लेटर्फम दिएनन्, मैले दिन थालेको छु ।
लेखकलाई मेरो आग्रह छ, अरुको पुस्तक लेखेर दाम कमाउनु होस्, आफ्नो पुस्तक लेखेर नाम कमाउनु होस् ।
जस्तो ?
केही वर्ष अघिसम्म नेपाली पत्रकारको अवस्था कस्तो थियो ? समयमा तलब नपाउने, पत्रिका निस्किएको दिन खुसीमा रक्सी पिउने, तीन महिनामा बल्ल बल्ल तलब पाउने, एकले अर्काको चरित्र हत्या गर्ने अवस्था थियो । आज त्यो करिब-करिब सकिएको छ ।
किनभने देशमा राम्रा मिडिया जन्मिए । कसले आफ्ना कर्मचारीलाई राम्रो सुविधा दिने भन्ने प्रतिस्पर्धा चल्यो । सम्मानित संस्थामा जान पत्रकारहरूबीच हानाथाप चल्न थाल्यो । के १० वर्षअघि यस्तो कल्पना गर्न सकिन्थ्यो ? हो, त्यस्तै युग अब नेपाली साहित्यमा आएको छ । अरूले नदेखेका मात्र हुन्, मैले देखेँ ।
कसरी ?
अहिले सबै भन्दिन । धेरै चर्चित लेखकहरूसँग आफ्ना सपना साट्दै काम सुरु गरेको थिएँ । केहीले मलाई दुहुनो गाई ठानेर दुहे र घाँस नहाली हिँडे । काम गर्दा सुरुमा यस्तो ठक्कर खानु पनि पर्छ । लाखौं रुपैंया डुबाएपछि केही सिकेको छु । अब त्यस्तो हुन नदिन पनि धेरै कुरा भन्दिन ।
तर म तपाईंका योजना थाहै पाएरै आएको हुँ । ती कुरा तपाईंबाट ओकेलेरै जान्छु ।
तपाईं डकैती शैलीमै प्रश्न गर्नुहुन्छ भन्ने कुरा नबुझेको कहाँ हो र ? म तालाचाबी लुकाएरै राख्छु । हेरौं कसले जित्दो रहेछ ?
खैर, कुरा अलिकति मोडौं । यहाँ नाटक घर खोल्नुभएको छ । काठमाडौंमा कलाकारपिच्छे नाटक घर जन्मिसके । थप किन अर्को ?
अरू नाटकघरमा एकै किसिमका नाटक चल्छन् । त्यसैले प्रतिस्पर्धा छ । यहाँ बायोग्राफिकल नाटकहरू चल्छन् । यहाँ विदेशी कलाकारहरू आएर नाटक गर्छन्, किनभने यहाँको वातावरण अग्र्यानिक छ । नाटक साहित्यको एउटा विधा हो । कलाका सबै विधा राख्दा नाटक छुटाउन मिलेन ।
यहाँ ‘कौतुहल कुञ्ज’ नामक घर पनि रहेछ । के हो कौतुहल कुञ्ज भनेको ?
एउटा राम्रो पुस्तक पढ्दा तपाईंको मनमा अनेक जिज्ञासा उत्पन्न हुन्छ । यस्तो कविता, कथा वा उपन्यास लेखकले कसरी लेख्यो, पाठकलाई कुतूहल हुन्छ । त्यसले यति तनाव दिन्छ कि ऊ लेखकसँग भेटेर त्यस विषमा कुरा गर्न चाहन्छ । लेखक र पुस्तकसँगका अनेकन कुतूहल मेट्ने घर हो, यो ।
पाठक र लेखकको भेट कसरी हुन्छ ?
पाठकले लेखन कुञ्जमा फोन गर्छ र फलानो लेखकको समय मिलाइदिनुहोस् भनेर खबर गर्छ । हामी ती लेखकलाई बोलाएर यो घरमा राखिदिन्छौं र पाठकसँग भेटघाट गराइदिन्छौं । पाठकले आफ्ना सबै कौतुहलहरू सोध्छ र जिज्ञासा मेट्छ ।
सित्तैंमा ?
तपाईंलाई कुनै रोग लाग्यो र क्लिनिक जानुभयो भने डाक्टरले सित्तैमा औषधि दिन्छ ? सित्तैमा रोग के हो भनिदिन्छ ? त्यसका लागि डाक्टरले तोकेको शुल्क तिर्नुपर्छ । त्यस्तै कौतुहल कुञ्जले पनि पाठकसँग एकपल्ट आफूलाई मनपरेको लेखक भेटेको ५ सय रुपैयाँ लिन्छ र लेखकलाई धनी बनाउन मद्दत गर्छ । हरेक लेखकका सयौं ंक्रेजी फ्यानहरू छन् । तर लेखक नै सस्तो चियापलमा बोलाउँछन्, तीतो चिया खुवाएर आफ्नो गरिबी देखाउँछन् त पाठकको के गल्ती ?
यो शान्त कुञ्ज भनेको चाहिँ के हो ?
जो मानिस आनन्दले आफूले मन लागेको पुस्तक पढ्न चाहन्छ । त्यस्ता व्यक्तिलाई हामी पुस्तक र त्यो पुस्तक पढ्ने शान्त वातावरण बनाइदिन्छौं । त्यस्ता पाठकलाई दिनभरि स्वस्थ र हलुका भोजनको व्यवस्था पनि गरिदिन्छौं । आजको जुगमा फुर्सद भए पनि घरमा पढ्ने वातावरण छैन । मानिसको पेट घटाउने र दिमाग बढाउने काम यो घरमा हुन्छ ।
अब सित्तैंमा ? भन्ने प्रश्न नगर्नुहोला । सिनेमा हेर्न जाँदा टिकट र हाफ टाइममा खाजाको चर्को शुल्क तिर्दा हामी त्यसलाई शानको कुरा सम्झन्छौं । जब साहित्य भन्ने कुरा आउँछ, यसका लागि पनि पैसा ? भन्ने प्रश्न तेर्सिन्छ । साहित्यकार गरिब भएको कारण यही हो ।
यहाँ साहित्यका अरू कस्ता कस्ता गतिविधि हुन्छन् ?
हरेक मानिससँग आफ्नै अनौठा कथा हुन्छन् र चित्त कुँडिएका व्यथा पनि हुन्छन् । हामी त्यस्ता कथा र व्यथालाई रेकर्ड गरेर उहाँहरूको बायोग्राफी बनाइदिन्छौं । यसबापत हामी शुल्क लिन्छौं । सक्षम मानिसहरू आफ्नो जीवन विभिन्न स्थान घुमेर, पार्टी गरेर अनि विभिन्न किसिमको रमाइलो गरेर बिताउँछ । यसका लागि क्षमता अनुसारको खर्च पनि गर्छ भने आफ्नै जीवनको पुस्तक किन ननिकाल्ने ? आफू यहाँसम्म आउँदाका कथा आफ्ना सन्तती तथा शुभचिन्तकहरूलाई किन नबाँड्ने ? यो प्रश्न हामी हरेक सफल मानिससँग पुर्याउँछौ र उहाँहरूका पुस्तक निकाल्छौं । अहिलेसम्म हामीले १ सय ५० वटा पुस्तक निकाल्ने सम्झौता गरिसकेका छौँ ।
त्यसरी सम्झौता गरिएका पुस्तक कसले लेख्छन् ?
मैले अघि नै भनेको थिएँ, साहित्यकार मेरा बिजनेस पार्टनर हुन् । पुस्तक लेखेर नाम कमाएका तर पुस्तक बिक्रीबाट जीवन चलाउन नसकेका लेखकहरूले ती आत्मकथा लेखिरहनु भएको छ । यो देशमा १० वर्षभित्र सबै लेखकले आप\mनै गाडी चढ्न पाउनु पर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको छु । राम्रा लेखकहरूलाई मेरो आग्रह हुन्छ, ‘तपाईं दुई-तीन वर्षमा आफ्नो नाममा एउटा पुस्तक लेख्नुस् तर अरूको दुई वटा पुस्तक लेखेर आकर्षक पैसा पनि कमाउनुहोस् । आफ्ना पुस्तक अरुले पढेनन्, किनेनन् भनेर कमजोर मानिसले गुनासो गर्छ । लेखकलाई ईश्वरले शब्द सिर्जना गर्ने अद्भुत क्षमता दिएका छन् । त्यसलाई चिन्नुहोस् । मैले त्यसको प्लेटर्फम तयार गरेको छु । अरुको पुस्तक लेखेर दाम कमाउनु होस्, आफ्नो पुस्तक लेखेर नाम कमाउनु होस् ।
लेखकले आफ्नो पुस्तक बेचेर इज्जतको जीवन बाँच्ने हैसियत कहिल्यै बनाउन बनाउन सक्तैनन् भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
धेरै कुरा भन्ने इच्छा थिएन तर तपाईं खोतलेको खोतल्यै गरिरहनु भएको छ । नभनौं मैले गफ दिएको ठानिने, भनौं हावादारी कुरा लाग्ने । ठिकै छ, मेरो कुरा सार्वजजिक भलाइका लागि प्रयोग गर्नुहुन्छ कि मिसयुज गर्नुहुन्छ, तपाईंको कुरा । म आफ्नो धर्म छाड्दिन ।
कुरा के भने अब नेपाली लेखक चाँडै धनी हुँदै छन् । मैले एउटा यस्तो सफ्टवेयर इन्जिनियरको समूह फेला पारेको छु, जसले नेपाली पुस्तकलाई संसारका सबै कुनामा रहनुभएका नेपालीहरूमाफ पुर्याउँदै हुनुहुन्छ । सबै नेपाली पुस्तक प्रकाशकसँग एउटा सम्झौता गरेर ती पुस्तकहरूलाई ती सफ्टवेयरमा राखिनेछ । संसारमा जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ, त्यहीँबाट अत्यन्तै सस्तो मूल्यमा ती पुस्तक आफ्नो ल्यापटप वा मोवाइलमा डाउनलोड हुनेछ । ती पुस्तक पढ्न मन लागे पढ्न पाइन्छ, सुन्न मन लागे सुन्न सकिन्छ । आफूलाई मनपर्ने स्रष्टाका सुन्दर कुरा को पढ्न चाहँदैन, को सुन्न चाहँदैन ? मानिस नवराज पराजुलीका कविता युटुबमा लाखौं पटक सुन्छन् भने सेतो धर्ती पनि सुन्न चाहन्छन् । यत्ति हो, अब त्यसरी सुन्नका लागि एकजनाले एक-दुई डलर तिरेर किन्नुपर्छ ।
यहाँ ठूला ठूला कक्षा कोठाहरू पनि छन्, यी कक्षाहरू चाहिँ केका लागि ?
हरेक मानिस आफ्ना मनका कुरा लेख्न चाहन्छ । तर त्यो कसरी लेख्ने ? मनका ती कुराहरूलाई कविता, गीत, कथा वा उपन्यास के बनाउने भन्ने थाहा पाउँदैन । मनका कुरा लेख्न चाहने तर लेख्न आँट गर्न नसक्ने व्यक्तिहरूका लागि हामी सिर्जनात्मक लेखनका कक्षा चलाउँछौँ । करिब दुई सय विद्यार्थीहरू यहाँबाट पढेर पास आउट भइसक्नुभयो । केही यो कोर्स पढेर पुस्तक निकालिसक्नु भयो । सबैभन्दा आश्चर्यलाग्दो कुरा के भने ठूलो पदमा पुगिसक्नु भएका, सेवा निवृत्त हुनुभएका र पैसा कमाइसक्नु भएका व्यक्तिहरू पढ्न आउन थाल्नु भएको छ । यसको अर्थ मानिसभित्र लेखक छ । त्यो लेखकलाई निकाल्न हरेक व्यक्ति इच्छुक छन् । यहि कारण यहाँ सबै विधाका कक्षाहरू निर्बाध चलिरहेका छन् ।
अरू के छन् योजना ?
भो, अब भन्दिन । तपाईंले पनि अरूले जस्तै बाहिर गएर कमल ढकाल साँच्चै पागल भएछ भन्नुहुन्छ ।
प्रत्येक महिना यहाँ हाट बजार लगाउनु हुन्छ रे, हो ?
तराई-पहाडतिर तरकारी र अन्नको हाटबजार लाग्छ भन्ने कुरा तपाईंलाई थाहै भएकै कुरा हो । किनभने त्यहाँ तरकारी र अन्न फल्छ । यहाँ पुस्तक उत्पादन हुन्छ । बुद्धि उत्पादन हुन्छ । स्रष्टा उत्पादन हुन्छ । त्यसैले यहाँ त्यस्तै कुराको हाट लाग्छ । महिनाको एक दिन पुस्तकको हाट लाग्छ । महिनाको एक दिन साहित्य वाहिरका चर्चित सेलिब्रेटील्ो आफ्नो अनुभव सेयर गर्छन् । यो अनुभव बुझ्न स्रष्टाले महिनौं फिल्डमा अनुसन्धान गर्नु पर्दथ्यो, त्यो अन्त्य हुन्छ । त्यसैगरि महिनाको एक दिन साहित्यभित्रकै चर्चित लेखक-कविले अनुभव सेयर गर्छन् । यसरी प्रत्येक साता यहाँ विभिन्न किसिमका हाट लाग्छन् ।
अनि लेखक-साहित्यकारहरूका लागि एउटा गाउँ नै निर्माण गर्दै हुनुहुन्छ रे । यो कुरा सुनेर साहित्यकारहरू नै मजाक गरिरहेका छन् । के भन्नुहुन्छ ?
मजाक गर्नुअघि उहाँहरूले सोच्नु पर्दथ्यो, यो देशको सबैभन्दा चर्चित र धेरै रोयल्टी लिने लेखकहरू को को हुन्् ? बुद्धिसागर, अमर न्यौपाने, कुमार नगरकोटी, अश्विनी कोइराला आदि आदि । यिनीहरू काठमाडौंमा कति वर्षदेखि लेखिरहेका छन् । के यिनीहरूको घर छ ? यिनीहरू कुन बिजोगले काठमाडौंमा बाँचेका छन्, कसैले सोधेको छ ? चलेका पुस्तकका लेखकको हविगत यो छ भने राम्रो लेख्ने तर बिक्री नहुने लेखक कति छन् ? उनीहरू कसरी जीवन चलाइरहेका छन् ? खिसिटिउरी गर्नुअघि एकपल्ट सोच्नु पर्दैन ?
हो, मैले काठमाडौं नजिकैको एउटा नगरपालिकामा ५० रोपनी जग्गा किनेको छु । अरु दुई सय रोपनी जग्गा किन्दै छु । तपाईंको विश्वासका लागि लालपूर्जा देखाउँछु तर नाम उल्लेख नगरिदिनुहोला । किनभने योजना थाहा हुने वित्तिकै यहाँ जग्गाको भाउ बढिहाल्छ । अँ, यसरी किनिएको दुई सय पचास रोपनीमा प्रत्येक लेखकले एक एक रोपनी जग्गामा यस्तै बाँसको घर बनाउनेछ । त्यसका लागि बैंकिङ प्रणालीदेखि आम्दानीको स्रोत मै खोजिदिन्छु । लेखकको काम केवल बिन्दास भएर लेख्ने । काठमाडौं नजिकै पहाडमा, आफ्नै बारीको हरियो-परियो खाँदै लेखकले लेख्नेछ । गाउँको बीचमा एउटा पुस्तकालय र बालवालिकाका लागि खेल्ने स्थान हुनेछ । नेपाली पाराले बनेको त्यो स्रष्टाको अनौठो गाउँ हेर्न संसारका चर्चित लेखकहरू-पत्रकारहरू आउनेछन् । लेखक-लेखक र लेखक-पत्रकारबीच अन्तर्त्रिmया हुनेछ । यसरी यो गाउँमा विश्वको आँखामा पर्नेछ । त्यसपछि नेपाली साहित्यप्रति संसारका मानिसको ध्यान जानेछ । नेपाली कृतिहरू अंग्रेजीमा अनुवाद हुने वातावरण हुनेछ ।
मलाई थाहा छ, तपाईं पनि मेरो कुरा सुन्दै खिसिटिउरी गर्दै हुनुहुन्छ । हाँस्नुस्, केही छैन । म गर्दै जान्छु, हाँस्ने हाँस्दै गर्छन् । असम्भव केही छैन ।
यस्तो योजना प्रज्ञा प्रतिष्ठानसँग मिलेर गर्दा कसो होला ? आखिर नेपाली साहित्य-कलाकै लागि यस्ता प्रतिष्ठानहरू खुलेका हुन्, होइन र ?
सरकारी योजना र सरकारी मान्छेहरूको कुरा हामीले देखिसक्यौं । सपना देख्नेले नै सपना पूरा गर्ने हैसियत राख्छ । प्रज्ञा प्रतिष्ठानमा सपना देख्न नसकेर लेखकबाट कार्यकर्तामा झरेका मानिसहरू जागीर खान्छन् ।
यति धेरै कामका लागि तपाईंसँग कति पैसा छ ?
ट्राभल एजेन्सी, टिकेटिङ, वैदेशिक रोजगार कम्पनी, स्कुल र नर्सिङ होमजस्ता आम्दानी दिने मेरा करिब एक दर्जन व्यवसाय थिए । त्यसमध्ये धेरै व्यवसाय बेचेर मैले डेढ करोड रुपैंया जम्मा गरेर यो काम सुरु गरेको हुँ । तर आजको युगमा डेढ करोड रुपैंया कति पनि नहुने रहेछ । त्यो पैसा भौतिक संरचना र गाउँका लागि जग्गा किन्दा सकिसकेँ । त्यसबाहेक अरू काम गर्न श्रीमतीको गहना नेपाल बैंकमा राखेको छु । भाइले दुःख गरेर किनेको चार आना जग्गा बेच्दा पनि निर्माण सामग्रीको पैसा तिर्न पुगेन । जसका कारण सार्वजनिक बेइज्जत खेपिरहेको छु । तर पनि आशा छ, सपना देखेपछि त्यो पूरा हुन्छ ।
आखिर कुन घटनाले तपाईंमा यो पागलपन सुरु भयो ?
त्यो अहिले बताउँदिन ।
मैले सुनेअनुसार वैदेशिक रोजगार कम्पनीमा…
पख्नुस् । वैदेशिक रोजगारीका कारण यो देशको आर्थिक गतिविधि चलायमान छ । लाखौं नेपाली विदेशमा काम गरिरहनु भएको छ । त्यही पैसाले सारा देश चलिरहेको छ । केही वैदेशिक रोजगार कम्पनीका मालिकको पैसाको लोभले गर्दा सबै म्यानपावर बदनाम भएका हुन् । म यसकारण पनि भाग्यमानी हुँ कि १० वर्ष कम्पनी चलाउँदा एउटा पनि विवाद आएन । खासमा वैदेशिक रोजगार कम्पनीहरू यति बदनाम रहेछन् कि म्यानपावरवाला भन्ने बित्तिकै मानिसहरू नाक खुम्च्याउँदा रहेछन् ।
जुन दिन म्यानपावर चलाएकै आधारमा मेरो बद्नाम भयो, त्यहीबेला त्यो कम्पनी बेचिदिएँ । तर कम्पनी बेचेपछि पनि सुख पाइँदो रहेनछ । म नेपाली साहित्यका लागि सबैथोक त्यागेर लागिरहेको छु । सबै जना मेरो आम्दानीका अरू स्रोतको कुरा नसोधेर म्यानपावरबाट कमाएको पैसा साहित्यमा सक्दै छ भन्छन् । तपाईंले पनि मेरा अरू व्यवसायको कुरा नगरेर त्यही म्यानवापर कम्पनीको कुरा उप्काउनु भयो ।
म्यानपावरसहित आम्दानी हुने सबै कम्पनीहरू बेचिसक्नुभयो । साहित्यका लागि ठूलो सपना देख्नु भएको छ । कसरी पूरा गर्नुहुन्छ ? कि यी सबै कुरा उपन्यासका सुन्दर प्लट जस्तै हुन् ?
म काँठमा जन्मिएको दुई भाइ र एउटी बैनीको दाजु हुँ । बुबा बित्दा घरमा वर्षभरि खाने अन्न थिएन । कसरी जीवन चलाउने भन्ने चिन्ता थियो । जेठो छोरो भएकाले कति हण्डर ठक्कर खाएर यहाँसम्म पुगको छु, त्यसको कथा कुनै दिन लेखौंला । तर आज संयोगले काँठमा सहर पस्यो र जग्गाको भाउ आकासियो । त्यसमाथि भाइहरू सक्षम भएका छन् । केही नभए पनि बुबाले जोडिदिएको २० रोपनी जग्गा छ । आखिर जतिसुकै सम्पन्न भए पनि मरेर लैजान सक्ने केही होइन । मानिसले जाँड रक्सी खाएर, युवती र जुवामा उडाएर पैसा सक्छन् भने मैले त साहित्य जस्तो पवित्र ठाउँमा पैसा खर्च गरिरहेको छु ।
म सधैंभरि सोच्ने गर्छु, काँटा चम्चादेखि जुत्ताको तुनासम्म व्यवसाय हुन्छ भने साहित्य चाहिँ व्यवसाय किन हुँदैन ? अवश्य हुन्छ । म विश्वस्त छु । राम्रो लेख्ने हरेक साहित्यकार लेखेरै धनी हुन्छन् । उनीहरूका कारण यो लगानी अवश्य उठ्छ । त्यो स्थिति म बनाएरै छाड्छु । साहित्यको खालमा पूरै जीवन जुवाडे झैं दाउमा हालेको छु । मैले जित्दा पनि नेपाली साहित्यले जित्छ, मैले हारे पनि नेपाली साहित्यले नै जित्छ ।
– अनलाइनखबर