जापानी राजदूतद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन



भक्तपुर, १९ चैत

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको अवलोकन गर्नुभएको छ ।

मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले राजदूत ओगावालाई मध्यपुर थिमिको विभिन्न क्षेत्रको अवलोकन गराउनुभएको थियो ।

भूकम्पले क्षति पुगेका मध्यपुरथिमिका नगदेश विहार, तरकारी बजार, लायकू दरबारलगायतको अवलोकन गर्नुका साथै नगरपालिकाले निर्माण गर्न लागेको आधुनिक चिम्नी, मध्यपुरथिमिको पहिचान माक्स अर्थात् मुखुण्डो निर्माणको राजदूत ओगावाले अवलोकन गर्नुभएको थियो ।

राजदूत ओगावाले अनुगमनपछि भूकम्पपछिको पुनःनिर्माणमा मध्यपुरथिमि नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत ओगावाको सम्मानमा नगरपालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मध्यपुरथिमिका चर्चित परम्परागत नाच र वाद्यबाधन प्रस्तुति राखिएको थियो भने जापानी कलाकारद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्