म फूर्ति मात्रै होइन, कामै गरेर देखाउछु : गृहमन्त्री थापा



काठमाडौं, १९ चैत

गृहमन्त्री रामबहादुर थापा बादलले देश तस्करहरुले खोक्रो बनाइसकेको बताउनुभएको छ ।

गृह प्रशासन सुधारका लागि ८२ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले देश गुण्डा, सिन्डिकेटधारी र अपराधीले बर्बाद बनाएको भन्दै अब उनीहरुविरुद्ध निर्मम हुने चेतावनी पनि दिनुभएको छ ।

झन्डै १ घन्टा लामो भाषणमा पटक–पटक युद्धकालिन बेलामा जस्तो सैन्य शब्दहरु प्रयोग गरेका गृहमन्त्री थापाले देशमा गुण्डाराजको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभएको हो । उहाँले टोले गुण्डादेखि लागुऔधष र सिके राउतदेखि सीमा सुरक्षासम्मका बेथीतिबारे बोल्दै अब पनि यस्ता कुरा नियन्त्रण नगरे देश असफलतातिर जाने पनि चेतावनी दिनुभयो ।

देश असफल बनाउन खोज्ने शत्रु चिनौं, देश एकता बलियो बनाआैं
जाती, धर्म र समुदायलाई नचाहिँदो हिसाबले उचालेर नेपालमा द्वन्द्व जारी राख्ने र त्यसको फाइदा लिन देशी विदेशी संघसंस्था लागिरहेको गृहमन्त्रीको भनाई छ ।

‘नेपाललाई भूमरीमा फसाउन चाहिरहेका छ, जसरी सयौं वर्षदेखि उनीहरुले मुठ्ठीभर गुटको मात्रै सम्बृद्धि हासिल गरे उनीहरुले अहिले पनि त्यही चाहिरहेका छन्’ थापाले भन्नुभयो, ‘फेरि उनीहरु नेपालमा अस्थिरता ल्याउन खोजिरहेका छन्, त्यो चाहे जातिको नाममा होस् या मधेसको सिके राउतको नाममा होस्, या कुनै धर्मको नाममा होस् ।’

नेपालमा क्रिश्चियनहरुको संख्या अपत्यारिलो ढंगले बढिरहेको भन्दै उहाँले भन्नुभयो, ‘धर्मको नाममा पनि अस्थिरता पैदा गर्नेहरु बढिरहेका छन्, तपाईंहरुलाई पनि थाहा छ, अहिले कुन किसिमका प्रचारवाजीहरु सञ्चारमाध्यममा छन् भन्ने कुरा, सन २०१५ सम्म यहाँका मठमन्दिर ध्वस्त बनाउने र चर्चहरुको राज खडा गर्ने यसप्रकारका उत्तेजनात्मक प्रचारबाजी हामीले देखिरहेका छौं, स्वतन्त्र मधेस, स्वतन्त्र, पुर्व पश्चिम आदी हल्ला पनि सुनिरहेका छौं, त्यसकारण देशको अखण्डता र राष्ट्रिय एकताको लागि यो कार्ययोजना ल्याएको हो ।’

यसरी अस्थिरता फैलाउने समूह बेलैमा चिन्नुपर्ने उहाँको भनाई छ । लोकतन्त्र विकास र सम्बृद्धिबाट मात्रै महसुस हुने र त्यसको लागि राष्ट्रिय एकतालाई बलियो बनाउन मन्त्रालय तयार रहेको उहाँको भनाई छ ।

गुण्डा र भ्रष्टले देश खोक्रो बनाए, अर्थतन्त्र तहसनहस भयो
नेपाल आफै गरिब नभएको तर कसैबाट लुटिएर नेपाल गरिब भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले अब नेपाल लुट्ने र गरिब बनाउनेको खोजी हुनुपर्ने बताउनुभयो । देशका उद्योग कसले ध्वस्त बनायो भन्ने विषय पनि खोज्नुपर्नेमा उहाँको जोड छ ।

‘यो देशलाई गरिब बनाएको भ्रष्टाचारीले हो, देश लुटेका माफियाले हो, यो हुन्डीवालाहरुले हो, तस्करहरुले हो, अहिले पनि अर्बौंमा र खर्बौंमा तस्करी हुन्छ, हाम्रो खुला सीमा, नाका र विमानस्थलको भन्सारबाट यो भैरहेको छ, यहाँका कच्चा पदार्थहरु र प्राकृतिक स्रोत मात्रै तस्कर भएको छैन, मानव तस्करी पनि भैरहेको छ, नेपालीलाई र विलासीको साधन र बिक्रिको साधन बनाएका छन्’ भ्रष्टाचारी र गुण्डाहरुप्रति निकै आक्रोशित देखिएका गृहमन्त्रीले भन्नुभयो, ‘हामीलाई लुट्नेहरु नै तस्करहरु हुन्, यी देशभित्र पनि छन् र बाहिर पनि छन्, साँच्चै हामी सम्बृद्ध हुने हो भने यस्ता तस्करहरुलाई ठेगान लगाएर राष्ट्रिय पूँजी बलियो बनाउनुपर्छ ।’

बाहिरबाट तस्कर भएको सामानले गर्दा नेपाली व्यापारी मर्कामा परेको गृहमन्त्रीको भनाई छ ।

३ वटै मोर्चाबाट नयाँ आन्दोलन
तस्करी, गुण्डागर्दी, सिन्डिकेट र भ्रष्टाचारविरुद्ध लड्न एक ठाउँ र एउटा निकाय मात्रै पर्याप्त नभएको भन्दै गृहमन्त्री थापाले सबै मिलेर लड्नुपर्ने बताउनुभएको छ । ‘सरकार, सदन र सडकको मोर्चाबाट भ्रष्ट दलाल र तस्कहरुविरुद्ध लड्ने बेला आएको छ’ थापाले भन्नुभयो, ‘आर्थिक क्रान्ति र सम्बृद्धिको लागि एउटा ऐतिहासिक आन्दोलन जरुरी भएको छ ।’

तस्करहरुको आक्रमण र भ्रष्टहरुमाथिको कारबाहीबाट आर्थिक सम्बृद्धिको आन्दोलन सुरु गर्नुपर्ने भन्दै उहाँले त्यसको लागि एक्सन प्लान कार्ययोजनामा समेटिएको जानकारी दिनुभयो ।

सिन्डिकेटको अन्त्य गर भन्ने जनादेश हो, फूर्ति मात्रै होइन काम गरिन्छ
सिन्डिकेटको जालोले नागरिक हैरान भएकाले त्यसविरुद्ध निर्मम हुने थापाको दावी छ । सिन्डिकेटविरुद्ध पनि धेरै नै शैन्य शब्दको प्रयोग गरेका थापाले भन्नुभयो, ‘काठमाडौंको ट्राफिक र सिन्डिकेटविरुद्ध सानो सुधारले पुग्दैन ठूलो धक्का जरुरी छ ।’

‘कैयनले प्रश्न गर्छन सिन्डिकेटको बारेमा, यो धेरैले कोशिस गरे, अहिलको गृहप्रशासनले त्यो सक्छ कि सक्दैन, हेरौं न त यसको फूर्ति भन्ने सुन्छु म, तर म यो पत्रकार सम्मेलनमा के स्पष्ट गर्न चाहन्छु भन्दा सिन्डिकेटको अन्त्य हुनुपर्छ भन्ने जनादेश हो, गृह प्रशासनको जनादेश होइन’ थापाले भन्ुनभयो, ‘सिन्डिकेटको अन्त्य गर्न भ्रष्टाचारको जालो अन्त्य गर्नुपर्छ,, भ्रष्ट ठेकेदारलाई कारबाही गर्नुपर्छ ।’

अब नागरिकसँग मिलेर सिन्डिकेट तोड्नुपर्ने भन्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘अब नागरिकसँग मिलेर सिन्डिकेट तोड्ने हो, उनीहरुले हामीलाई होइन, गृह प्रशासन र नागरिक मिलेर उनीहरुको सिन्डिकेट तोड्ने हो ।’

सिन्डिकेट तोड्नु भनेको माफिया र भ्रष्टाचारीको एकाधिकारलाई पनि तोड्नु भएको उहाँको भनाई छ ।

‘नेपाल विश्वभरका अपराधी लुक्ने थलो भयो, सोलेका बाउ पनि लुक्न सक्छन यहाँ ’

संक्रमणकाल पूरै अन्त्य नभएकाले नेपाल विश्वभरीका तस्कर लुक्ने देशको रुपमा चिनिएको भन्दै गृहमन्त्री थापाले यसलाई पनि निर्मुल पार्नुपर्ने बताउनुभयो ।

‘थुप्रै देशबाट क्रिमिनल आउने र लुक्ने सेल्टरको रुपमा नेपाल चिनिएको छ, यसले पनि देशको सुरक्षा र विकासमा ठूलो असर गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘भारतका अपराधीले कस्तोसम्म गर्छन् भन्नेबारे मैले सोले भन्ने फिल्म हेरेको थिएँ, तर नेपालमा त सोले फिल्मका बाउहरु रहेछन के ।’ –
अर्जुन पोख्रेल/उज्यालो

प्रतिक्रिया दिनुहोस्