काठमाडौं २० चैत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको भ्रष्टाचारसम्बन्धी विशेष अदालतमा दायर गरेको मुद्दा तीन वर्षदेखि अल्झिएको छ । निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेतसहित तीनजना सहायक प्रबन्धक र दुई उपप्रबन्धकसहित ९८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीच बाटोमै चोरी गरी करिब आठ करोड रुपैयाँबराबर निगमलाई नोक्सान पुर्याएको भन्दै भ्रष्टाचार मुद्दा विशेष अदालतमा १३ पटक पेसी तोकेर स्थगित भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
अख्तियारले अनुसन्धानपछि ३१ भदौ ०७१ मा विशेष अदालतमा दर्ता गरेको मुद्दा चारपटक कानुन व्यवसायी अनुपस्थित भएकाले अझै सुनुवाइ हुन सकेको छैन । पछिल्लो समय ३ चैतमा विशेष अदालतले न्यायाधीश बाबुराम रेग्मी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासमा तोके पनि पक्षतर्फका कानुन व्यवसायी अनुपस्थित भएपछि स्थगित भयो ।
अख्तियारद्वारा सात करोड ७७ लाख बिगो दाबी
भारतको बेतालपुरबाट रुपन्देहीको भलबारीमा रहेको निगमको डिपोमा पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा निगमकै संलग्नतामा बीच बाटोबाटै इन्धन चोरी हुने गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो । अख्तियारले तेल चोरीमा संलग्न भएको भन्दै निगमका आठ कर्मचारी, पेट्रोलियम व्यवसायी चार, ट्यांकर धनी ६६ र चालक १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूबाट सात करोड ७७ लाख ८४ हजार बिगो असुल हुनुपर्ने माग गरेको थियो ।