काठमाडौं २० चैत: २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।
सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।
सो पत्र सरकारले संसद्मा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।