काठमाडौँ, २० चैत
नेपालमा कर्मकाण्ड र पूजापाठको शिक्षा दिने उद्देश्यले राणाकालमा स्थापित तीनधारा पाठशाला(वाल्मीकि क्याम्पस)मा व्यवस्थापनको कमजोरीका कारण विद्यार्थीको आकर्षण घट्दै गएको छ ।
संस्कृत भाषाका अतिरिक्त बौद्धदर्शन, अंग्रेजी, गणित, अर्थशास्त्र, तन्त्रमन्त्र आदि गरी कूल २१ विषयमा पढाइ हुने त्यस क्याम्पसमा पढ्न आउने विद्यार्थी सङ्ख्या घटेर हाल ८१० छात्रछात्रा अध्ययनरत छन् । शिक्षक र कर्मचारी भर्ना गर्ने प्रवृित्त बढ्दै गएका कारण त्यहाँ पढ्ने विद्यार्थी र शिक्षकको संख्या उस्तै उस्तै हुने गरेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले बताउनुभयो ।
उहाँहरुका अनुसार संस्कृत विश्वविद्यालयको सम्बन्धनप्राप्त देशभरिका १९ क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या तीन हजार ७०० तथा शिक्षकको संख्या एक हजार २०० नाघेको छ । अनेरास्ववियु(क्रान्तिकारी) वाल्मीकि क्याम्पसका अध्यक्ष आइपी आचार्य भन्नुहुन्छ,“नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक अवस्था निकै खस्केको छ । यसबाट आम विद्यार्थी निकै चिन्तित छन्”, उहाँ भन्नुहुन्छ,“ वाल्मीकि क्याम्पसमा २२ वर्ष पुरानो पाठ्यक्रममा आधारित पाठ पढाइन्छ । यो एकदमै बिजोग व्यवस्थापन हो ।”
उत्तरमध्यमा, शास्त्री तथा आचार्य तहको पढाइ हुने त्यस क्याम्पसमा वार्षिक रु ५७ करोडको लगानी हुने गरिएको छ । क्याम्पस हाताभित्र रहेको १५ सटरबाट करोडौँ रुपैयाँ भाडा उठ्ने गरेको छ । क्याम्पस व्यवस्थापनले भूकम्पबाट क्षतिग्रस्त भवनको जीर्णोद्धार, शौचालयको राम्रो व्यवस्थाजस्ता आधारभूत सुधार गर्नेतर्फ ध्यान नदिएको आरोप अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका अध्यक्ष लोककृष्ण दाहाल लगाउनुहुन्छ ।
संस्कृत छात्रावास लथालिङ्ग रहेको र पहिलेको सयौँ वर्ष पुरानो संरचनानुसार सञ्चालन भइरहेको बताउँदै उहाँ अहिलेको परिवर्तित परिवेशअनुसार सम्पूर्ण क्षेत्रमा परिवर्तन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
नेविसंघ वाल्मीकि एकाइका अध्यक्ष अच्युत लम्सालले यहाँबाट शिक्षा हासिल गरेर गएका विद्यार्थी पूजापाठमा मात्र सीमित हुने भएकाले पनि संस्कृत पढाइमा विद्यार्थीको आकर्षण घटेको बताउनुहुन्छ । उहाँले थप्नुभयो “हाम्रो सामूहिक माग भनेको पाठ्यक्रम परिमार्जन, शुल्क वृद्धि फिर्ता, दीक्षान्त समारोह आयोजना, स्ववियु चुनाव घोषणा, विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्छ ”।
उहाँले विद्यार्थी र प्राध्यापक हाराहारी हुने गरी क्याम्पसलाई राजनीतिक भर्तीकेन्द्र बनाउने काम बन्द गर्न व्यवस्थापनलाई सुझाव दिनुभयो । उहाँले अनेरास्ववियु, अखिल(क्रान्तिकारी) र नेविसंघले क्याम्पसको अस्तव्यस्त स्थितिविरुद्ध चरणबद्ध आन्दोलन गरिँदै आएको जानकारी दिँदै वाल्मीकि क्याम्पसको प्रशासन र नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । (रासस)