बेपत्ता भनिएका विप्लवका कार्यकर्ता प्रहरी हिरासतमा



धरान : जिल्ला अदालत सुनसरीबाट पक्राउ गरी बेपत्ता पारिएको भनिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ५ कार्यकर्ता जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेको बुझिएको छ। आइतबार जिल्ला अदालत सुनसरी परिसरबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको गाडिमा राखी झापा प्रहरीलाई बुझाइएको थियो।

सुनसरीका विभिन्न स्थानमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपाका कार्यकर्ता सुरज राई, रोशन ढकाल, लक्षमण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीले बन्दी प्रत्यक्षीकरण रिट माथि सुनवाई गर्दै रिहा गर्ने आदेश दिए लगतै आइतबार प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।

अदालत परिसरबाट पक्राउ परेका पाँचै जना कार्यकर्तालाई सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेका थिए। परिवार र पार्टीलाई समेत जानकारी नदिइ झापा प्रहरीले हिरासतमा लिएपछि पीडितका परिवारले बेपत्ता पारेको आरोप लगाएको थियो।

अदालत परिसरबाट पाँचै जनालाई पक्राउ गरी झापा जिल्ला प्रहरी कार्यालय लगिएको भए पनि झापा प्रहरीले भने झिलझिलेबाट सोमबार पक्राउ गरेको बताएको छ। झापाका प्रहरी प्रमुख बिष्णु केसीले गैह्रकानुनी क्रियाकलाप गरेको अभियोगमा नेकपाका पाँचजना कार्यकर्तालाई सार्वजनीक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको बताएका छन्। उनले सुनसरी अदालत परिसरबाट पक्राउ गरिएको विषयमा आफूलाई केही जानकारी नभएको बताए।

राष्ट्रिय मानव अधिकार आयोगको बिराटनगर कार्यालयका अधिकृत सन्तोष आर्चायले पक्राउ परेका नेकपाका पाँचै जना कार्यकर्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन्। यता अदालतको आदेशको अपहेलना गरेको भन्दै अधिवक्ता निराजन ओझाले सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया विरुद्ध जिल्ला अदालत सुनसरीमा रिट निवेदन दर्ता गराएका छन्। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्