कर्मचारी नहुँदा स्थानीय तहको काम प्रभावित



बनेपा, २० चैत

कर्मचारी नहुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् ।

छ  नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी अभावका कारण दैनिक प्रशासनिक कामसमेत प्रभावित भइरहेको नगरपालिका र गाउँपालिकाका प्रमुखको भनाइ छ । जिल्लाको विकट डाडाँपारिस्थित महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आठ वडामा चार मात्र वडा सचिवले काम गरिरहेको बताउनुभयो । सबै वडामा वडा सचिव नभएका कारण दैनिक प्रशासनिक काममा प्रभाव परेको उहाँको भनाइ छ । “आठ वडामा चार जना मात्रै सचिवले काम गरिरहनुभएको छ, जसका कारण जन्मदर्ता, बसाइँसराइलगायत काम निकै प्रभावित भइरहेको छ”, गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभयो ।

कोशीपारिस्थित चौरी देउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले नौ वटा वडामा चार सचिवले काम गरिरहेको बताउनुभयो । ‘गाउँपालिकाको कार्यालयमा ११ जनाको दरबन्दी भए पनि तीन जना मात्रै कर्मचारी रहेका छन्, त्यो पनि नियमित आउँदैनन्”, गौतमले भन्नुभयो, “एकातिर वडा कार्यालयमा सचिव नहुनु र अर्कोतिर गाउँपालिकाको कार्यालयमा नै कर्मचारी पर्याप्त नहुँदा बजेट कार्यान्वयन गर्न समेत सकिरहेका छैनौंँ ।”

मण्डन देउपुर नगरपालिकाका वडामा वडा सचिव पर्याप्त नहुँदा दैनिक प्रशासनिक काम नै प्रभावित भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त शर्माले बताउनुभयो । “नगरको १२ वटा वडामा जम्मा चार जना मात्रै वडा सचिव हुनुहुन्छ’ शर्माले भन्नुभयो, “कर्मचारी अभावका कारण वडा कार्यालय सञ्चालन गर्न समेत समस्या भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्