रसुवा, २० चैत
नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी-मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ ।
नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत महिनाभरमा सम्पूर्ण कार्य पूरा हुने बताउनुभयो ।
वि.सं २०७२ साल वैशाख १ गतेबाट शुरु भएको स्याफ्रुबेँशी-मैलुङ सडक निर्माण कार्य भौगोलिक अवस्था अतिविकट स्थान भए पनि नेपाली सेनाले सरकारले तोकेको समयावधि भित्रै सडक निर्माण गरेको र नयाँ वर्ष २०७४ को बिहानीमै नयाँ सडकमा मोटर गुडाइ परीक्षण गर्ने बताइएको छ ।
गल्छी-बेत्रावती-धुञ्चे-रसुवागढीको मार्गभन्दा अब चालू हुने गच्छी-बेत्रावती-मैलुङ-स्याफ्रु–रसुवागढी मार्गमा २५ किमी दूरी कमी हुने नेपाली सेना स्याफ्रुबेँशी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ ।
यस्तै, निर्माणाधीन उक्त सडकको मैलुङतर्फबाट हाकु क्षेत्रमा भूकम्प आवास निर्माणको सामान ढुवानी गर्न केन्द्रीय आदेशबमोजिम चार दिनका मालबाहक सवारीसाधन हाकुबेँशी झोलुंगेपुलसम्म छोडिएको नेपाली सेनाले जनाएको छ । (रासस)