काठमाडौं, २० चैत
मंगलवार बिहान ९ : ३५ बजेको समयमा एकजना भीआइपी काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका थिए । मुखमा कालो माक्स लगाएर फुटपाथमा हिँडिरहेका ती भीआईपीलाई धेरैले चिनेनन् ।
अगाडि–पछाडि रहेका सुरक्षाकर्मीका कारण कतिपयको ध्यान भने उनीतर्फ आकर्षित भयो । उनी थिए चारपटक देशको प्रधानमन्त्री भइसकेका राप्रपा नेता लोकेन्द्र बहादुर चन्द । कोटेश्वरको जामका कारण पैदल हिँड्दै थिए उनी ।
‘सवारी जामका कारण हिँड्दै आएको हुँ, अगाडि गाडी छ,’ पूर्वप्रधानमन्त्री चन्दले भने । कार्यालय समयमा मंगलवार पनि कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्म पुगेको थियो ।
भक्तपुरको लोकन्थली बस्दै आएका पूर्वप्रधानमन्त्री चन्द जाम पर्यो भने अरु बेला पनि हिँडेरै कोटेश्वर पार गर्छन् । कार्यालय समयमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । लोकेन्द्रबहादुरको घर भएकै कारण सुदूरपश्चिम क्षेत्रबाट राजधानी आएकाले पनि भक्तपुरको लोकन्थली आसपास डेरा बस्न रुचाउँछन् ।