काठमाडौं, २० चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका राष्ट्रहितमा केन्द्रित गर्ने र नेपाली जनताको शिर झुक्ने गरे कुनै सन्धी सम्झौता नगर्ने बताएका छन् ।
भ्रमण पूर्व संसदलाई सम्बोधन गर्दै ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’
जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले उनका सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे।
‘समाजमा मान्छे तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली, अन्य अपराधजन्य तस्करी, भष्टाचारजस्ता कुरा र त्यसबाट उत्पन्न हुने अपराध स्वीकार्य छैन्’, ओलीले भने– ‘म दृढतापूवर्क भन्न चाहन्छु, सरकारले नियन्त्रण गर्छ, यो जनआकांक्षा र समयको माग होइन, सरकारले मान्दैन, स्वीकार्देन। नियन्त्रण गर्छ।’