काठमाडौं, २० चैत
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच गत महिना संसदमा सवाल-जवाफ भएको थियो । गगनले वाम गठबन्धनको घोषणापत्रमा लेखेको कुराहरू कण्ठ गरेर अब हिसाब माग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणापत्र काम गर्नकै लागि बनाइएको जवाफ फर्काएका थिए ।
गत फागुन २७ गते चलेको यो सवाल-जवाफ प्रधानमन्त्रीले ३ सातासम्म पनि भुलेका रहेनछन् । मंगलबारको संसद बैठकमा पनि ओलीले गगनको प्रसंग उठाए ।
‘अस्ति नै एकजना साथीले घोषणापत्र हेर्छौं भन्नु’भो, घोषणापत्र मात्र किन ? आजको हरेक पाइला र हरेक व्यवहार हेर्नुस्, भ्रष्टाचार गर्छ कि हेर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी खबरदारी गरेको मन पराउँछौं ।’
सम्बोधनका क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका थिए ।