काठमाडौँ, चैत २०
पार्टी एकताका लागि गठित एमाले–माओवादी केन्द्रका संयुक्त कार्यदलले प्रतिवेदन तयार पारेका छन्। तयार पारिएका प्रतिवेदन आज एकता संयोजन समितिलाई हस्तान्तरण गरिने भएको छ।
त्यसका लागि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संयोजन समितिको बैठक बस्दैछ। बैठकमा पेश भएपछि दुबै प्रतिवेदनउपर छलफल गरी एकताको अन्तिम प्रक्रिया सुरु हुनेछ।
एमाले बरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा वैचारिक दस्तावेज र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजनकत्वमा संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदल गठन गरेको थियो।
७ फागुनमा भएको एकता संयोजन समितिको बैठकले गठन गरेको कार्यदललाई १५ दिनको समय दिइएपनि झण्डै डेढ महिना लगाएर दुबै कार्यदलले प्रतिवेदन तयार पारेका हुन्।
दुबै कार्यदलले प्रतिवेदन पेश गरेपछि एकताको अन्तिम प्रक्रिया सुरु हुने भएकाले यसलाई एकता प्रक्रियामा महत्वपूर्ण फड्कोको रुपमा लिइएको छ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको घोषणा गरेर भारत भ्रमण (२३–२५ चैत्र) मा जाने योजनामा छन्। त्यसैले, त्यसअगावै पार्टी एकताको घोषणा हुने सम्भावना छ।