अर्थतन्त्र निर्माणमा सहकारीको महत्वपूर्ण योगदान



काठमाडौँ, २० चैत

समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै  प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको विकास हुननसकेको बताएका हुन् ।

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि र सहकारीलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा मुलुकले आर्थिक विकास गर्न नसकेको बताउनुभयो । उहाँले सहकारीमार्फत किसानको जीवनस्तरमा सुधार ल्याउनुका साथै  बेरोजगारलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ३०४ अर्ब बचत रहेको सहकारी क्षेत्रलाई बाहिर राखेर मुलुकको विकास सम्भव नभएको भन्दै सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थिर सरकारसँगै मुलुकमा लगानीको वातावरण बन्दै गएको छ भन्दै आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीले छरिएर रहेको श्रम, सीप र पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सहकारी सञ्चालनमा सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । वि.सं २०१३ मा चितवनबाट ‘बखान सहकारी संस्था’ को नाममा शुरु भएको सहकारी हाल  ३४ हजार ५१२ वटा पुगिसकेको छ  ।

प्रतिक्रिया दिनुहोस्