काठमाडौँ, २० चैत
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका नवनिर्वाचित अध्यक्षमा होमनारायण श्रेष्ठलाई आज पद हस्तान्तरण गरिएको छ ।
अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष घनश्याम खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पद हस्तान्तरण गर्नुभएको हो । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई जनताको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले संविधानको दिएको अधिकारअनुसार गाउँपालिकाले सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । कर्मचारीको अभावले आफूहरु सोचेअनुसार काम गर्न नसकेको बताउँदै उहाँले कर्मचारी व्यवस्थापन हुनसाथ सेवाग्राही सोचेजस्तो काम गर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष खतिवडा र संस्थापक अध्यक्ष नारायण कोइरालाले गाउँपालिकाले संविधानले दिएको अधिकारलाई स्थापित गराउनका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
महासंघको सोमबार भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहितको ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । महासंघको महासचिवमा वंशलाल तामाङ, कोषाध्यक्षमा दीलमाया बुढामगरलगायत रहनुभएको छ । मुलुकमा ४६० गाउँपालिका रहेका छन् ।