सशस्त्र प्रहरी बललाई पराजित गर्दै संकटा विराट गोल्डकपको सेमिफाइनलमा



विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बललाई पराजित गर्दै संकटा क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा गएराति भएको खेलमा सशस्त्रलाई १-० गोल अन्तरले पराजित गर्दै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी जिब्रेलले गोल गरेका थिए । खेलको ६१औं मिनेटमा जिब्रेलले खेलको एक मात्र गोल गर्दै संकटालाई सेमिफाइनलमा पुर्याएका हुन् ।

बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासँग खेल्ने छ ।

२०७० सालको विराट गोल्डकप विजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए । उनी २०७० सालमा संकटाले विराट गोल्डकप जित्दा टिम कप्तान थिए ।

सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए

खेलको म्यान अफ्दी म्याच संकटाका जिब्रेलले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुदै छ ।

प्रतिक्रिया दिनुहोस्