काठमाडौं, २१ चैत
चुनावलगत्तै एमालेभित्र नेतृत्व हस्तान्तरणको एक म्यागेजिनले ‘एमालेमा प्रचण्ड गुट’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो, जसले एकखाले तरंग ल्यायो । परिस्थिति यसरी फेरिंदै गयो कि कुनै समयमा एमालेभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर भनिनेहरु पार्टी एक नहुँदै अलग भए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकताको गति बढिरहँदा चालेका दुई कदमले एमालेको केपी ओली र माधव नेपाल समूह एकमात्रै भएको छैन, सम्भावित गठबन्धनका लागि एकजुट भएको छ ।
प्रचण्डले सरकारमा माओवादीबाट मन्त्री नपठाएर सुरुमा जुनखालको अविश्वास निम्त्याए त्यसको असर माधव नेपाल समूहलाई परेको छ । अर्कोतिर पार्टी एकतामा ५०/५० को सिद्धान्तले एमालेको नेपाल समूह झस्किएको छ ।
माओवादीले जनताको बहुदलीय जनवाद (जबज) र सूर्य चिन्हमाथि अस्विकारको नीति लिएकोमा पनि नेपाल समूह सशंकित भएको छ । प्रचण्डको कदमले एमाले एकजुट भएको छ, तर माओवादीमा प्रचण्डप्रति नै शंका गर्ने समूह खडा भएको छ ।
माओवादी केन्द्रभित्र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको पक्षमा ठूलो समूह खडा भएको छ । प्रचण्डले पार्टी एकतामा बिलम्ब गर्ने संकेत देखिएको भन्दै उनीहरुले आन्तरिक दबाबमात्रै दिएका छैनन्, ओलीसँगको सान्निध्यता पनि बढाएका छन् ।
माओवादीमा ओलीलाई सघाउने समूहको पार्टी नेतृत्व हेडक्वाटर सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले गरेका छन् । त्यसो त शर्माभन्दा वरीयतामा माथि रहेका वरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि ओलीलाई सघाउने समूहमा छन् ।
ओलीलाई सघाउने समूहको नेतृत्व गरेका शर्माले प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रम र लिएको नीति सफल बनाउन लाग्न अनौपचारिक लबिङ गरेका छन् । ‘प्रधानमन्त्रीले जे कुरा भन्नुभएको छ, माओवादीका साथीहरुले पनि त्यसलाई लागू गर्न जस्तोसुकै परिश्रम गर्न तयार हुनुपर्छ,’ उनले आफू निकट नेताहरुलाई भन्ने गरेका छन्, ‘प्रधानमन्त्री केपी ओलीलाई साथ दिनुपर्छ ।’
सरकारको नेतृत्व आधा आधा गर्नुपर्ने माओवादीभित्रको समूहलाई चुनौती दिंदै शर्माले ओलीलाई नै पाँच वर्ष सरकार चलाउन दिनुपर्ने सार्वजनिकरुपमै बताउँदै आएका छन् ।
शर्मासँगै गृहमन्त्री बादल पनि ओलीको नीतिले चुनावमा विजय भएको भन्दै निःशर्त साथ दिनुपर्ने बताउँदै आएका छन् । छोरा प्रकाशको निधनपछि चुनावी अभियानमा ओलीसँगै हिँडेका बादल त्यसपछि प्रभावित भएका हुन् ।
ओलीले त्यहीबेला नयाँ सरकारमा तपाईंले महत्वपूर्ण भूमिका लिनुपर्छ भनेर प्रस्ताव गरेका थिए । ओलीले बादललाई ‘सागदी, इमान्दार, अनाश्यक चलखेल नगर्ने पात्र’ को रुपमा बुझेका छन् ।
माओवादीभित्र ओलीलाई साथ दिनुपर्ने समूहमा छन्, प्रचण्ड निकट सहयोगी समेत रहेका वन तथा वातावरणमन्त्री शक्ति बस्नेत । ओलीको पहिलो कार्यकालमा गृहमन्त्री रहेका बस्नेत त्यहीबेलादेखि नै प्रधानमन्त्री प्रति लोयल भएका छन् । जाजरकोटमा टिकट वितरणमा विवाद भएकाबेला शक्ति बस्नेतकै प्रस्तावमा ओलीले एमालेका निरज आचार्यको उम्मेदवारी नै फिर्ता लिएका थिए ।
माओवादीमा टोपबहादुर रायमाझी ओलीका अर्का निकट नेता हुन् । ओलीको पहिलो सरकारमा रायमाझी उपप्रधान र ऊर्जामन्त्री थिए । रायमाझी ओलीसँग राजनीतिक र पारिवारिक कुरा पनि साटासाट गर्छन् ।
अग्नि सापकोटा, राम कार्की, पम्फा भूसाललगायतका नेताहरु पनि ओलीको नीतिका समर्थक हुन् । माओवादी केन्द्रमा हाल सभामुख रहेका कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, मणि थापा, हितमान शाक्य भने अझै पनि ओलीप्रति सकारात्मक छैनन् ।