केन्द्रीय कार्यालय तत्काल खाली गराउन राजपालाई अनुरोध



काठमाडौँ, २१ चैत

नेपाल मधेशी निजामती कर्मचारी मञ्चका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) भाडामा रहेको मञ्चको कार्यलय भवन खाली गराउन माग गरेका छन् ।

आजदेखि बसेको मञ्चको पूर्ण बैठकमा सो माग उठेको हो ।

बबरमहलमा रहेको मञ्चको कार्यालय भवनमा राजपा नेपाल भाडामा बसेको छ । मञ्च राजपा नेपालको भातृ संगठन नभएको हुनाले सो दललाई त्यस भवनमा कार्यालय राख्न दिन नहुने तर्क दिँदै झापाका कमलदेव चौधरीले पार्टी कार्यालय तत्काल हटाउनुपर्ने माग गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए ।

मञ्चले मधेशका राजपा नेपाल र फोरम नेपाललाई समान दृष्टिले हेरेको तर मञ्चका केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थमा यसलाई राजपा नेपालको भातृ संगठन जस्तै बनाइदिएको आरोप विजयकुमार सिंहले लगाएका थिए ।

मञ्चका पूर्वअध्यक्ष सिंहलाई राजपा नेपालका नेताहरुले जागिरबाट राजीनामा दिन लगाए पनि प्रदेशको समानुपातिक सदस्य नबनाएको गुनासो पनि बैठकमा भएको थियो ।

‘समानुपातिक सांसद बनाउँछु भनेर जागिरमा रहेका विनोद सिंहलाई राजीनामा गर्न लगाइयो । तर, सांसद बनाइएन । यस कुरामा पनि मञ्चका पदाधिकारी तथा सदस्यहरु आपत्ति जनाउँदै आक्रोश प्रकट गरे,’ मञ्चका एकजना पदाधिकारीले भने ।

सिंहलाई समानुपातिक सदस्य नबनाएपछि मञ्चका पदाधिकारी तथा सदस्यहरुले राजपा नेपालको पार्टी कार्यालयमा तोडफोडसमेत गरेका थिए ।

‘मञ्चका लागि बनाइएको यो भवन अहिले राजपा नेपालको कब्जामा छ । मञ्चको कुनै अस्तित्व छैन,’ सिरहाका अमरेन्द्र यादवले बैठकमा उठाएका थिए ।

आधिकारिक ट्रेड युनियनको चुनावमा मञ्चले सातवटा जिल्लामा चुनाव जितेको तर आफ्नै भवनमा अलपत्र परेको भन्दै राजपा नेपाललाई तत्कालै हटाउनु पर्ने माग बैठकमा उठेको स्रोतले जनाएको छ ।

राजपा नेपाललाई त्यो भवनमा कोठा अपुग भएपछि अहिले माथिल्लो तल्ला थप्ने काम भइरहेको छ । ‘यस विषयमा मञ्चमा यसको कुनै जानकारी छैन,’ अमरेन्द्र यादवले बैठकमा भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो, ‘कुनै संगठन वा व्यक्ति कसैको घरमा भाडामा बस्दा बिना अनुमति कसरी तल्ला थप्न सक्छ ? तल्ला थप्नका लागि घरबटीको अनुमति लिनुपर्छ कि पर्दैन । कसको अनुमतिमा राजपा नेपालले तल्ला थपिरहेको छ ।’

मञ्चको भवनमाथि तल्ला थप्ने निर्णय मञ्चमा भएको छैन । तर धमाधम काम भइरहेको छ ।

पूर्व अध्यक्ष विनोद सिंहले पनि राजपा नेपालले आफै तल्ला थप्ने काम गरिरहेको कुरा बैठकमा राखेका थिए ।

मञ्चको भवनबाट राजपाको कार्यालय हट्नुपर्छ भन्ने पक्षमा कमल देव चौधरी, विजयकुमार सिंह, अजयकुमार झा, झारोखी साह, अमरेन्द्र यादव, सच्चीन्द्र यादव, लालबाबु यादव, रामबाबु साह, राजुशरण यादव, बेचन यादव, उमेश मिश्र, रामशंकर यादव, विन्देश्वर पटेल, अमरदेव यादव, उपेन्द्र यादव, विनोदकुमार सिंह (सिन्धुली) लगायतका रहेकोस्रोतले जनाएको छ ।

सरकारले जग्गा उपलब्ध गराएपछि कर्मचारीको चन्दा तथा सरकारको सहयोथमा मञ्चले तीन तल्ले भवन बनाएको थियो । भवन निर्माणको शिल्यानाश राजपा नेपालका संयोजक रहेका महन्थ ठाकुरले नै गरेका थिए । त्यतिबेला ठाकुर तमलोपाका अध्यक्ष थिए ।

सरकारको सहयोगमा बनेको भवनमा एउटा पार्टीलाई बस्न दिएको भन्दै चौतर्फी विरोध भएको थियो । अहिले उक्त भवनमा मञ्चको बैठकमा समेत हुन थालेको छ ।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीको अध्यक्षतामा बसेको बैठक भोलीसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्