भारत भ्रमणमा शरणार्थीको अपेक्षा : भुटान फिर्तीको पहल होस्



दमक : भुटानी शरणार्थीले भारत भ्रमणका क्रममा आफूहरूको स्वदेश फिर्तीका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। पूर्वी नेपालका शरणार्थी शिविरमा बाँकी रहेकाहरूलाई स्वदेश फर्काउनका लागि भारतसँग पहल गरिदिनुपर्ने उनीहरूको माग छ। स्वदेश फिर्तीको माग पूरा हुनेमा उनीहरू आशावादी देखिएका छन्।

भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले मंगलबार इमेल तथा कुरियरबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षणपत्र पठाइएको जनाएको छ। ‘भारत सरकारद्वारा भुटान सरकारलाई राजनीतिक दबाब र अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना हुनुपर्छ भन्ने हामी भुटानी शरणार्थीहरूको चाहना रहेकाले स्वदेश फिर्तीका लागि पहल गरिदिन सम्माननीय प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउन चाहन्छौं’, मंगलबार जारी प्रेस विज्ञप्तिमा लेखिएको छ।

भुटानमा सन् १९९० सेप्टेम्बरमा त्यहींको भाषा, संस्कृति मान्नुपर्ने नियम ल्याइएपछि त्यसविरुद्ध आवाज उठाउँदा आफूहरू लखेटिनुपरेको समितिका संयोजक सन्तवीर घलेले बताए। ‘म ७० वर्षको भएँ। मेरो जीवन उत्तरार्धतिर आइपुगेको छ तर मलाई भुटानमा आफू बसेको माटोले सधैं तानिरहन्छ’, स्वदेश फिर्तीको माग २५ वर्षदेखि उठाउँदै आएका उनले भने, ‘हामी बाँकी रहेकाहरूको अन्तिम इच्छा नेपाल सरकारले पूरा गरिदिनुपर्छ।’ सबै छोराछोरी पुनर्वासका क्रममा अमेरिकामा रहे पनि आफू भने स्वदेश नै फर्कने अडानमा रहेको उनले बताए।

भुटान सरकारले दमन गरेपछि दक्षिणी भेगमका नेपालीभाषी ल्होछाम्पा र पूर्वी भेगका सेरेछोक्पा विस्थापित भएका थिए। त्यहाँबाट लखेटिएका भुटानी नागरिक सन् १९९१÷९२ देखि नेपालका झापा र मोरङमा बस्दै आएका छन्। उनीहरू ९० प्रतिशतभन्दा बढी पश्चिमा देशमा पुनर्वास भइसकेका छन्।

शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार अहिले मोरङको पथरी र झापाको बेलडाँगीमा गरेर पाँचदेखि सात हजार भुटानी शरणार्थी बसोबास गर्छन्। उनीहरू सबै स्वदेश फिर्तीको अडानमा रहेका हुन्। दर्ता नभएकासहित अहिले १० हजारजति शरणार्थी रहेको घलेले बताए।

तेस्रो देश पुनर्वासका कारण शरणार्थीले पारिवारिक वियोग भोग्नुपरेको छ। युवाहरू भविष्य खोज्दै अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा नर्वेलगायत मुलुकमा पुनर्वासमा गएका छन्। बाँकी रहेका बूढापाकालगायत शरणार्थी स्वदेश फिर्तीको आसमा दिन कटाइरहेका छन्। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्