रोमविरुद्ध बार्सिलोनाको फराकिलो जित



काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले रोमविरुद्ध ४-१ गोलको फराकिलो जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वरेज र जेरार्ड पिके एक-एक गोल गरे भने दुई गोल रोमाले आत्मघाती गोलको रुपमा बार्सिलोनालाई उपहार स्वरूप दिएको थियो ।

खेलको ३८औ मिनेटमा रोमाका डे रोजीले पहिलो आत्मघाती गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाईदिएका थिए भने खेलको ५५औ मिनेटमा मनोलासले दोस्रो आत्मघाती गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

त्यसको ४ मिनेट पछि जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाले ३-० को अग्रता लिएको थियो ।

खेलको ८०औ मिनेटमा डिजेकोले गोल गर्दै रोमा खेलमा फर्किने प्रयास गरेको थियो तर खेलको ८७औ मिनेटमा स्वरेजले गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए ।

यस खेलमा गोल गर्दै लुइस स्वरेजले यस सिजनमा च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गरेका छन् । स्वरेजले च्याम्पियन्स लिगमा १०५८ मिनेट खेल्दै पहिलो गोल गरेका छन् भने उनले ३१औ सट हान्दै आफ्नो पहिलो गोल गरेका हुन् ।

त्यस्तै यस बार्सिलोनाका आन्द्रे इनेस्टाले च्याम्पियन्स लिगका २१ क्वाटरफाइनल खेल खेलेका छन् । उनले रायन गिग्स र जाभीसँग बराबरी गर्दै च्याम्पियन्स लिगका धेरै क्वाटरफाइनल खेल्ने रेकर्ड बनाएका छन् ।

यी दुवै टिमबीच क्वाटरफाइनलको दोस्रो लिग आगामी अप्रिल ११ मा रोमाको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्