काठमाडौँ, २२ चैत २०७४
रसुवा जिल्लाको दुर्गमक्षेत्र मानिने सरमथली गा.वि.स.वडा नं.५ (परिबर्तित नौकुण्ड गाउँपालिका-४) मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी सिर्जना लामा २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर सबैलाई चकित पारिन । विजयसँगै उनी नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष मात्र नभएर नेपालभरिकै सबैभन्दा कम उमेरकी जननिर्वाचित उपाध्यक्ष बन्न सफल भईन । आफ्नो पार्टी नेकपा (एमाले) भित्रका ५ जना महिला प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै उम्मेदवार बन्न सफल सिर्जना, काँग्रेस, माओवादी र नँया शक्तिकी संयुक्त उम्मेदवारलाई समेत पराजित गर्न सफल भईन । युवाहरु माझ अति नै लोकप्रिय सिर्जना उपाध्यक्षमा निर्वाचित भएपछि अहिले सबै युवाहरुको प्रेरणाकी श्रोत बन्न सफल भएकी छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको दोश्रो राष्ट्रिय सम्मेलनमा काठमाण्डौ आएको बेला परिवर्तनकर्मी ध्रुवप्रसाद घिमिरेले सिर्जनासँग गरेको कुराकानीको आधारमा तयार पारेको ग्रामिण युवाको वास्तविक जीवनकथा ।
बाल्यकाल र पढाई :
परिवारका सात सदस्य मध्ये सिर्जना तामाङ बुवाआमाको दोश्रो सन्तान हुन् । उनको परिवारमा जेठी दीदी, कान्छी बैनी र दुई भाइहरु छन् । दीदी, बहिनी र भाइहरुसँग रमाउंदै स्कूल जाने सिर्जनाले तीन विद्यालय फेर्दै आफ्नो स्कुले पढाई सकिन । नमुना प्रा.वि. मा १ देखि ३ सम्म पढेकी सिर्जनाले दुप्चेश्वरी आधारभूत विद्यालयमा ४ र ५ उतिर्ण गरिन भने निर्कु भूमे उ.मा.वि.बाट प्लस टू पुरा गरिन । १० कक्षा सम्मको पढाईमा ग्रामिण भेगका आम युवा झैँ खेतीपाती, दाउरा घाँस गर्दै हुर्किएकी सिर्जना प्राय: खाना पकाएर आमालाई घरमा सघाउने गर्दी रहिछन । २०५४ सालमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित बुवा लवाङ नुर्पु लामालाई माओवादीले जनयुद्धकालमा गाउँमा बस्न नदिएपछि उनी आमा र दिदीको साहारामा हुर्किएकी थिईन । उनले एस.एल.सी. दिएसँगै एकमात्र दिदीको विवाह भएपछि घरको पुरै जिम्मेवारी सम्हालेर खेतीपाती देखि जागिर सम्म धान्न थालिन ।
घरबाट १ घण्टाको हिडाईमा पुगिने निर्कु भूमे उ.मा.वि.को पढाई सकेर आफैले पढेको नमुना प्रा.वि.मा मासिक ३००० का दरले चार वर्ष ६ महिना शिक्षिका बनिन । स्व-अध्ययनले नै कालिका हिमालय क्याम्पसबाट बी.एड. उतिर्ण गरेकी सिर्जनाले चुनावको कारण एम.ए. पढ्न भने छुटाउनु पर्यो ।
सबैलाई न्याय दिने न्यायीक समितिको संयोजक भएपछि अबभने उनलाई कानुन पढ्ने ईच्छा जागेको छ । उनी भन्छिन, ‘कानुन पढें भने न्याय सम्पादनमा अझ राम्रो गर्ने थिएँ ।’
राजनीतिक यात्रा
विद्यालय पढ्न जाँदा पटकौ भागेर माओवादीबाट जोगिएकी सिर्जना ८ कक्षा देखि अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्य भएर काम गरेकी रहिछन् । तीन वर्ष अनेरास्ववियु क्रियाशील रहेकी उनी जागिरे जीवनपछि भने राजनीतिमा सक्रिय हुन सकिनन् । छोटो समयमा पनि अनेरास्ववियुको जिल्ला र केन्द्रीय अधिवेशनमा प्रतिनिधिको रुपमा छानिएर उनले राजनीतिमा अनुभव थप्न सफल भईन ।
शिक्षिका जीवनपछि स्थानीय संस्था मानेकोर सोसाइटी नेपालको शैक्षिक परियोजनामा रहेर विभिन्न गा.वि.स.मा कार्यक्रम संचालन गर्ने सिर्जना समाजमा निकै परिचित थिईन । निर्वाचित नहुनु भएको भए के गर्नु हुन्थ्यो भन्ने हाम्रो प्रश्नमा सिर्जनाले भनिन्, ‘म उपाध्यक्ष निर्वाचित हुनु अघि मासिक २५००० कमाउँथे र अर्को परियोजनाको लागि हेल्वीटासमा पनि नाम निस्किसकेको थियो ।’ हाँस्दै भनिन् ,’सायद अझ धेरै तलब खाने थिएँ होला नि !’
रसुवा जिल्ला प्रदेश ‘क’ कमिटीमा नेकपा एमालेको सह-सचिवमा क्रियाशील उनी पार्टीको जिल्ला कमिटिमा मनोनित सदस्य पनि हुन् । बाल्यकालदेखि समाजसेवी बन्ने उद्देश्य राखेकी उनी कलिलै उमेरमा गह्रौ जिम्मेवारीमा पुग्न सफल बनिन् ।
उम्मेदवार हुँदाको चुनौती
उनी भन्छिन, शुरुमा पार्टीका साथीहरुले नै २५ वर्ष नपुगी उम्मेदवार हुन नपाईने बताएका थिए । तिमी त जम्मा १८/१९ त भयौ नि ! भनेर टार्न खोजे । हामीलाई पनि संविधान पढ्न आउँछ ! कहाँ छ २५ वर्ष ? उम्मेदवार हुन २१ वर्ष हो, म पुगिसकेकी छु । हाँस्दै सिर्जना भन्छिन, ‘झन्नै आफ्नैले चिप्लाए !’
कसले उम्मेदवार बन्ने सल्लाह दियो भन्ने हाम्रो प्रश्नमा सिर्जना थप्छिन, ‘मैले चुनावको बारेमा सुनें, बुझें, अनि बुवालाई सोधें, बुवाले हुन्छ भनेपछि जनार्दन ढकाल सँग कुरा गरें । उहाँले पनि सकारात्मक जवाफ दिएपछि पार्टीका अरु कमरेडहरूसँग पनि छलफल गर्न थालें ।
पार्टीमा अरु ५ जना कमरेडहरूले पनि उपाध्यक्षको दावी गर्नु भएको थियो । मेरो शैक्षिक योग्यता, सामाजिक क्रियाशीलता र बुवाले पार्टीलाई पुर्याएको योगदानको कारण नै म छानिएको हुनुपर्छ, उनी थप्छिन । म उम्मेदवार भएपछि भने सबै महिला प्रतिस्पर्धी कमरेडहरुबाट पूर्ण सहयोग पाएँ ।
उनी भन्छिन, ‘चुनावी अभियान निकै गाह्रो थियो । गठबन्धन सँग भिड्नु पर्दा कठिन त थियो नै तर जित्छु भन्ने आत्मविश्वास भने थियो । चुनावी प्रचारमा विपक्षीले सिर्जना विहे गरेर गएपछि हाम्रो उपाध्यक्ष पद नै जान्छ । उसलाई भोट दिनु हुँदैन समेत भनेर निकै दुष्प्रचार गरे तर मैले धेरै गाउँहरुमा काम गरेको हुनाले प्रतिष्पर्धी महिला भन्दा म नै बढी परिचित थिएँ । मैले मलाई विपक्षीको आरोपमा नलागी सहयोग गर्नुहोस्, म तपाईहरुकै साथमा हुन्छु भन्दै सयौ भाषणहरु गरे । सबै युवाहरु मेरो पक्षमा लागेका थिए, जनताले मेरो विश्वास गरे त्यसैले म आजको अवस्थामा छु ।
जनप्रतिनिधिहरुको क्षमता विकासका लागि गरिएका प्राय: कार्यक्रमहरुमा काम गर्नेलाई भन्दा आफन्तलाई सहभागी गराउँने चेतना देख्दा साह्रै दिक्क लाग्छ । राष्ट्रिय संचार माध्यामले दुर्गम क्षेत्रका जनप्रतिनिधिका आवाजहरु उजागर नगरेको पनि उनलाई मन परेको रहेनछ । न्याय सम्पादनमा परेको असजिलोले कम्तिमा ३ देखि ५ दिनको न्याय सम्पादन तालिम आयोजनामा सम्बन्धित निकायले ध्यान नदिएको प्रति पनि उनको गुनासो छ !
उपाध्यक्षको अनुभव
८३ मतको अन्तरले मैले जितेकी हुँ । पार्टी र जनताले पत्याए पछि मैले पनि आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नु पर्छ भन्ने राम्ररी बुझेकी छु । विकास निर्माणसँग जोडिने बैठकहरु हुनु पूर्व पार्टी कमिटीमा छलफल गर्छु तर पार्टीले दिएको निर्देशनले धेरै जनताको हित गर्छ कि गर्दैन, त्यो विश्लेषण गर्छु, अनि आफ्नो विवेकको प्रयोग पनि गर्छु । पार्टीको निर्देशन भन्दा बाहिर कुनै काम गर्नु भएको छ त ? भन्ने हाम्रो प्रश्नमा उनले हाँस्तै भनिन् ‘एउटा विकास योजना पार्टीको निर्णय भन्दा फरक गरेकि छुँ ।’
सामाजिक काममा लामो समयदेखि लागेको हुनाले अहिलेको काममा खासै गाह्रो छैन । न्याय क्षेत्रमा गहिरो ज्ञान नभएको कारणले भने अलि असजिलो महसुस गर्छु । यसैले न्याय सम्पादनका कतिपय कामहरु नेपाल प्रहरीसँगको परामर्श र छलफलको आधारमा गर्ने गर्छु ।
गरेका काम
फरक-फरक पार्टीका जनप्रतिनिधिहरु भएपनि हामी आपसी सल्लाहमा नै काम गर्छौ । मेरो खास जिम्मेवारी अनुगमन र न्याय सम्पादन भएकोले मैले आफ्नो काम राम्ररी गरेकी छु । कृषि, शिक्षा, स्वास्थ्य, मोटरबाटो, विजुली विस्तारमा केन्द्रित रहेर विकासका कामहरु गरिरहेका छौं । विकास योजनाहरुको अनुगमन र मूल्यांकन मैले नै गर्ने भएकोले छलकपटको कुनै गुन्जायस नै छैन ।
योजनामा महिला र बालबालिकालाई विशेष ध्यान दिने गरेकी छु । कानुनमा भएर पनि पहिले नछुट्टिने महिला बजेटलाई म आएपछि पूर्णरुपमा लागु गरेकी छु । महिलालाई आत्मनिर्भर बनाउन घरेलु उद्योग र सामुहिक खेती तर्फ प्रेरित गर्दैछु ।
भावी योजना
काम गर्ने राम्रो अवसर पाएकी छु, आफ्नो ज्ञान, क्षमता, अनुभव र अग्रजहरुको सल्लाह मै कार्य सम्पादन गर्छु । मलाई पूर्ण विश्वास छ, ‘बुवाआमालाई गर्व गर्न लायक छोरी, समाजले गर्व गर्ने जनप्रतिनिधि र युवाहरुलाई उत्साह भर्ने युवा बन्ने छु ।’
बिहे बारेको प्रश्नमा सिर्जनाले भनिन्, ‘विवाहको बारेमा सोचेकी छैन र अहिले सोच्नु पनि हुँदैन ।’ प्रेममा हो कि भन्ने प्रश्नमा सिधै भनिन्, ‘No Love : No interest ‘ कसैसँग प्रेममा पनि छैन र इच्छा पनि छैन !’ तपाईलाई थाहै छ नि, ‘बुहारी भन्दा छोरी भएर सामाजिक काम गर्न निकै सजिलो हुन्छ !’ उनले अन्तिममा थपिन, ‘ढुक्क भए हुन्छ यो कार्यकालमा चै म विवाह गर्दिन है !’
राजनीतिक यात्रालाई निरन्तरता दिंदै जनताको आर्थिक समृद्धीको अभियानमा क्रियाशील रहने छु । मेरो सफलतामा परिवारको ठूलो साथ छ, पार्टीले मलाई पत्याएर जिम्मेवारी दिएको छ, जनताले पत्याएका छन्, सबैलाई गर्व गर्न लायक काम गर्ने छु ।
युवाकी ढुक-ढुकी नेपालकी छोरी सिर्जनालाई हाम्रो पनि लाखौलाख शुभकामना !