चितवन, २२ चैत
मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ ।
हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिनुभयो ।
संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले आज दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताउनुभयो ।
समस्याको शुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाईको भनाइ छ ।
छात्रवृत्ति प्राप्त गर्ने चेलीका अभिभावक विमला विकले आएको रकम सही सदुपयोग हुने बताउनुभयो । यस्तै छात्रवृत्ति पाएकी दिया लामाले प्राप्त सहयोगको शिक्षामा सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)