काठमाडौं, २२ चैत
स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मंगलबार राति युरोपियन च्याम्पियन्स लिगमा सनसनीपूर्ण गोल गरेका छन्। उनले च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्स विरुद्ध ‘बाइसाइकल किक’मार्फत गरेको गोलको विश्वभरबाट प्रशंसा भइरहेको हो।
६४ मिनेटमा रोनाल्डोले अविश्वसनीय गोल गरेका थिए। ड्यानी कार्भान्जको क्रसमा रोनाल्डोले बाइसाइकल किकमार्फत गोल गरेका थिए। खेलमा रियल ३–० ले विजयी भयो।
खेल युभेन्ट्सको घरेलु मैदानमा भएको थियो। रोनाल्डोको प्रहारले जाली चुम्ने वित्तिकै युभेन्ट्सका समर्थकले पनि उठेर ताली बजाएका थिए। रोनाल्डो स्वयमले पनि आफ्नो खेल जीवनको उत्कृष्ट मध्येको एक गोल भएको बताएका छन्।
‘सायद मैले आफ्नो खेल जीवनकै उत्कृष्ट गोल गरे। मैले केहि उफ्रिएर गरेको प्रहार जिन्दगीको यादगार गोल मध्येको एक बन्न पुग्यो। मैले यस्तै गोल गर्न यसअघि पनि धेरै प्रयास गरेका थिए। तर खेलको अवस्थाले फरक पार्दा सकेको थिएन। आज भने सफल हुन सफल सके,’ रोनाल्डोले खेलपछि भने।
रोनाल्डोले युभेन्ट्सका फ्यानले उठेर दिएको सम्मानले गोलको महत्व अझ बढाइदिएको बताए। उनले आफू बाच्चा हुँदा युभेन्ट्स मन पर्ने क्लब मध्येको एक भएको र अहिले त्यहि क्लबका फ्यानले सम्मान दिँदा झन् खुसी लागेको बताए।
रोनाल्डोले उत्कृष्ट गोल गरेपछि युरोपका चर्चित पत्रिकाले उनको प्रशंसामा शब्द खर्चिएका छन्।
रोनाल्डोले रियलका लागि खेलेका पछिल्ला ९ खेलमा १९ गोल गरेका छन्। क्लब र देशका लागि खेलेका १३ खेलमा उनले २५ गोल गरिसकेका छन्। यो सिजन रियलका लागि ३६ खेल खेल्दै उनले ३९ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगका पछिल्ला १० खेलमा गोल सकेका छन्। च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोको गोल संख्या १ सय १९ पुगेको छ। दोस्रो स्थानमा रहेका बार्सिलोनाका लिओनल मेसीले सय गोल गरेका छन्।
भिडियो
https://youtu.be/CqGPOhMTsNM