विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा



काठमाडौँ, २२ चैत

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ  ।

विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनमा नागरिक समाज र जनतालाई समेत जोड्नसक्ने गरी कार्यक्रम बनाउन उहाँले बैठकमा निर्देशन दिनुभयो । विद्यालयको पाठ्यक्रममै यो विषयलाई समावेश गर्न आवश्यक रहेको उहाँको भनाइ छ । पर्याप्त तालीम र स्रोतसधानको अभावमा मानवीय र भौतिक क्षति बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न आवश्यक तालीम र स्रोतसाधनलाई बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले विपद् व्यवस्थापनमा युवा परिषद् र नेपाल स्काउटलाई समेत जोड्ने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्