ढाका बुनाइको तीनमहिने तालीम सम्पन्न



काठमाडौँ, २३ चैत

तारकेश्वर नगरपालिका तथा शान्ति महिला समूहको संयुक्त आयोजनामा आयोजित तीन महिने ढाका कपडा बुनाइको तालीम विहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले तालीममा सिकेको सीपबाट ढाकाको सल खरिद गरेर आगामी दिनमा अझ बढी उत्पादन गर्न र आवश्यक बजार व्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल (धिताल) ले सिकेको सीपलाई खेर जान नदिन आग्रह गर्दै सीप सिक्न र वृत्ति विकासकालागि नगरपालिकाका तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने बताउनुभयो ।

तारकेश्वर नगरपालिका–८ का अध्यक्ष मनोजकुमार घिमिरेले शान्ति महिला समूहले महिलालाई छोटो समयमा आफ्नो सीप अगाडि बढाउन सक्ने क्षमता प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रशिक्षक नानु पुरीले तालिमबाट एउटा सीपको शुरुवात भएको तथा यसलाई खेर जान नदिन आफ्नो कामलाई निरन्तरता दिन प्रशिक्षार्थीलाई अनुरोध गर्दैं आगामी दिनमा पनि आफूले निरन्तर सहयोग गरिरहने विश्वास दिलाउनुभयो ।

प्रशिक्षार्थी सीता नेपालले प्राप्त गरेको सीपलाई निरन्तरता दिन आफूलाई थप तालीमको आवश्यकता भएको कुरा व्यक्त गर्नुभयो । शान्ति महिला समूहका अध्यक्ष बत्तीस महर्जनको सभापतित्वमा भएको कार्यक्रममा १५ महिलाले ढाका कपडा बुनाइको प्रशिक्षण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्