काठमाडौं, २३ चैत
स्टार इन्डियाले भारतीय क्रिकेट टिमको विश्वव्यापी प्रसारण अधिकार ६ हजार १ सय ३८ करोड रुपैयाँमा किनेको छ ।
स्टार इन्डियाले सन् २०२३ सम्मका लागि भारतीय टिमको प्रसारण अधिकार लिएको हो । अब स्टार इन्डियासँग दुई वटा ठूला खेलका प्रसारण अधिकार रहने भएको छ । गएको सेप्टेम्बेरमा मात्रै कम्पनीले सन् २०२२ सम्मका लागि आईपीएल प्रसारण गर्ने अधिकार १६ हजार ३ सय ४७ करोडमा किनेको थियो ।
भारतीय खेलका मात्रै होइन, स्टार इन्डियासँग सन् २०१५ देखि २०२३ सम्मको आईसीसीका प्रतियोगिताको प्रसारण गर्ने अधिकार रहेको छ । यो अधिकारका लागि उसले एक अर्ब ९० करोड अमेरिकी डलर खर्चिएको थियो ।
स्टार इन्डियाले पाँच वर्षका लागि १ सय २ पुरुष अन्तर्राष्ट्रिय खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । सन् २०१२ देखि २०१८ सम्ममा ९६ खेलको प्रसारण अधिकार प्राप्त गरेको थियो ।
भारतीय क्रिकेट टिमको प्रसारण अधिकार ई–अक्सनमार्फत बेचिएको हो । ई–अक्सन खेल क्षेत्रमा पहिलो पटक भएको बताइन्छ । स्टार इन्डिया, सोनी पिक्चर्स नेटवर्क, रिलायन्सले लिलाममा भाग लिएका थिए ।
मंगलबार दिउँसो दुई बजेबाट सुरु भएको बोलकबोलमा त्यस दिन सबैभन्दा बढी ४ हजार ४ सय ४२ करोडको दाम लागेको थियो । त्यस्तै बुधबार ६ हजार ३२ करोड अन्तिम बोल रहेको थियो ।
बिहीबार भने ६ हजार ६१ करोडबाट सुरु भएको लिलाम बढाबढ ६ हजार १ सय ३१ करोडमा पुगेर रोकिएको थियो । अन्तिम बोल स्टार इन्डियाको थियो ।