एक कक्षाकाे भर्ना शुल्क दुई लाख, निजी स्कूलमा छोराछोरी पढाउन मुश्किल…



काठमाडौँ : पेप्सिकोलाका गणेश लुइँटेल सरकारी जागिरे हुन्। उनकी श्रीमती नर्स छिन्। ‘दुवै जना जागिरे भएर के गर्नु ? एउटी छोरीलाई पढाउन धौधौ छ, लुइँटेलले भने, ‘एक कक्षामै भर्ना गर्न लाखौँलाख लाग्दोरैछ, भोलिपर्सि कलेज कसरी पढाउनु ?’

आइतबार बानेश्वरस्थित पाठशाला स्कुलमा शुल्क बुझ्न आएका उनले काठमाडौँका नाम चलेका सबै स्कुल चहारिसके।धेरै स्कुलमा छोरीलाई प्रवेश परीक्षा पनि दिन लगाए। ‘कतै नाम निस्किएन, कतै त फी सुनेरै तर्सिएर भागेँ,’ उनले गुनासो गरे, ‘बुढाबुढीको कमाइले छोरी पढाउनै मुश्किल हुने भो।’ जस्तोतस्तो स्कुलमा छोरी पढाउन उनको मन मान्दैन।’ राम्रो स्कुलमा हाल्न पाए न भोलि छोराछोरी पनि राम्रा भएर निस्किन्थे,’ उनले भने, ‘मेरो एउटै चाहना छ– भोलि छोरी जस्तोसुकै प्रतिस्पर्धामा उत्रिन सकोस्।’ स्कुल घुम्दाको आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘नाम चलेका स्कुलहरू ‘राम्रो शिक्षा दिने, दुईचार पैसा कमाउने’ उद्देश्यले खोलिएका रहेछन्।’

काठमाडौँ, बुढानीलकण्ठकी नीरा रेग्मीलाई हरेक महिना छोरा पढाउन २० देखि २५ हजार रुपैयाँ जुटाउनुपर्छ। ‘महँगो पैसा तिर्नु हाम्रो रहर होइन, बाध्यता हो,’ रेग्मीले दुखेसो पोखिन्, ‘छोराले राम्रो पढ्ला भनेर पैसा मागेपछि चुपचाप दिनुपरेको छ।’ स्कुलले कतिपय हकमा अनावश्यक शीर्षकमा पैसा लिइरहेको छ भन्ने उनलाई थाहा छ। ‘कहिले एक्स्ट्रा करिकुलर एक्टिभिटिज भन्छन्, म्युजिक र स्पोट्र्सको छुट्टै पैसा लिन्छन्,’ उनले भनिन्, ‘एउटै कुरालाई फरक–फरक नाम दिएर पैसा असुलिरहेका छन्।’

उनलाई अन्य शीर्षकमा स्कुलले लिइरहेको शुल्कमा चित्त बुझेको छैन।’बर्थडे सेलब्रेसन, टुर, कल्चरल ड्रेस भनेर लिने पैसामा पनि स्कुलले मनोमानी गरिरहेको छ,’ उनले भनिन्, ‘हामीलाई त राम्रो स्कुलभन्दा पनि राम्रो शिक्षा चाहिएको छ।’ स्कुल विकास शुल्क तथा मर्मत शुल्क भनेर स्कुलले असुलेको शुल्कमा पनि उनको आपत्ति छ। ‘एउटा मःमः पसलेले मःमः पकाउने भाँडोको पैसा ग्राहकसँग माग्न मिल्छ ?’ उनको प्रश्न छ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै छोराछोरीलाई पढाउन नसकिने भयो भनेर टाउकोमा हात राख्ने यस्ता धेरै अभिभावक भेटिन्छन्। शुल्कसम्बन्धी निश्चित नियम भए पनि त्यसको पालना नगरी निजी स्कुलले जथाभावी शुल्क लिने गरेका छन्। यसको प्रत्यक्ष मारमा अभिभावक परिरहेका छन्।नाम चलेका प्रायः निजी स्कुलका शुल्क पारदर्शी छैनन्। टेलिफोन सम्पर्कमा स्कुलले आफूले लिने शुल्कबारे जानकारी दिँदैनन्।

रिपोर्टिङका क्रममा ‘बच्चा भर्ना गर्नका लागि बुझ्न आएको’ भन्दै ‘सम्पूर्ण’कर्मीहरू विभिन्न स्कुलमा पुगेका थिए। त्यसपछि बल्लतल्ल शुल्कको विवरण हात पारियो। शुल्कको विवरणमा स्कुलको नामै नभएको चिटमा शुल्क लेखेर धेरै स्कुलहरूले हातमा थमाइदिए। प्रायः स्कुल भन्छन्, ‘हामीले मौखिक विवरण मात्र दिने गरेका छौँ।’

‘संस्थागत स्कुल शुल्क मापदण्ड निर्देशिका’मा भर्ना गर्दा एक महिनाको मासिक शुल्क लिन पाउने व्यवस्था छ। तर, धेरैले मासिक शुल्कको कैयौँ गुणा बढी शुल्क लिएको पाइयो। जसमा उपत्यकाका नाम चलेका स्कुलहरू पर्छन्। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्