काठमाडौँ, २३ चैत
आरती बुद्ध यातायात भन्ने टाटा बस थियो । दोस्रो बिश्वयुद्द ताका बनेको त्यो टिनको डब्बा ,झापा चोकबाट ३ पंचायतका मानिस लिएर गुड्न सुरु गरेपछि पछि, तल कचनकबल सम्मै त्यसको कर्कस ध्वनी सुनिन्थ्यो । तर मलाई चाहिँ मानिसहरू बसमा चडेको , छतमा बसेर हावा खांदै यात्रा गरेको देखेर असाध्यै लोभ लागेर आउथ्यो ।
एक फेर त्यसरी नै गाडी चडेर भद्रपुरसम्म पुग्न पाए कस्तो न हुन्थ्यो होला जस्तो लाग्थ्यो । गाडी चड्ने रहर कति तिब्र थियो भने, म राती सपनामा पनि आरती बुद्ध चडेको देख्थे । तर मेरा सपनाहरू चकनाचुर पार्न आगनको डिलमा टिलिक्क परेर बाको हिरो साईकल सधैं खडीखडाउ हुन्थ्यो ।
” बा ! बसमा जाउन। ”
” खुट्टा टेक्ने ठाउँ छैन, जान्छस बसमा । खुरुक्क अगाडी बस ।”
आमा काखमा बैनी लिएर तौलिया ओछ्याएर पछाडी, म सधै नाङ्गो डन्डामा अगाडी । त्यो बसाई एकप्रकारले सजाय जस्तो हुन्थ्यो । डन्डोले डामेर भुमध्य रेखाको वरिपरि भंयंकर पीडा हुन्थ्यो । मट्याङ्रा जोगाएर सकुशल घर फर्किनु भनेको सगरमाथा आरोहण सकेर बेसक्याम्प फर्किनु जत्तिकै चुनौतीपूर्ण हुन्थ्यो । घर आईपुगेर साइकलबाट उत्रिदा म जाईफल चेप्पिएर भर्खरै खसी पारेको पाठो जस्तो हुन्थे । तंग्रिन २/४ दिन समय लाग्थ्यो लाग्थ्यो ।
खै किन हो, हाम्रा बालाई आफ्नो जवानी, तागत र साईकल प्रति असाध्यै गर्व थियो । खान्थ्यो भने बाले साईकललाई पनि चना, दूध र अन्डा ख्वाउथे होला । चनै नख्वाए पनि बाले साईकलको सक्दो स्याहार गरेका थिए । किनभने बाको साईकल पनि पठानको ट्रक जस्तो सधैं टिलिक्क र चिरिच्याट्ट हुन्थ्यो । बालाई साईकलप्रती जुन मात्रामा अनुराग थियो, त्यसको ठिक बिपरित आरती भन्ने बससंग उत्तिनै बितृष्णा थियो ।
त्यो टिनको डब्बासंग एकप्रकारको प्रतिद्वन्दीता थियो बाको । एकप्रकारको प्रतिस्पर्धा जस्तो ! सधैं आराती बस छुटेको आधा घन्टापछी बाको साईकल छुट्थ्यो । अनि हुलाकी सडकको ग्राबेल बाटोमा सपरिवार राखेर बा तुफानसंग बसलाई उछिन्न दौडीनु हुन्थ्यो । बालाई भविष्यमा सन्तेका बालबच्चा हुन नहुन त्योसंग मतलब थिएन । बस टिनको डब्बोलाई उछिन्न पाए पुग्थ्यो । बाको साईकल ४ नंबर गियरमा डिनको डब्बा उछिन्न दौडिएपछी म आफ्ना मट्याङ्रा जोगाउन तिर लाग्थे । बाले बस उछिनेर बिजयसभामा आफैले आफैलाई प्रमाणपत्र दिई रहदा म आफू र आफ्नो सकुशल रहेकोमा भगवती पाथीभरालाई धन्यवाद दिन्थे ।
जुग बितेर गयो हेर्नुस । ती दिन इतिहास भए । बा तीन दसक बूढो हुनु भो । साईकल छोडेर भट्टभटेको हैसियतमा उक्लिनु भो । म उमेर खाँदै बाको स्थानमा आईपुगे । यो बिचमा धेरै तन्त्र र व्यवस्थाहरु बद्लिए । तर यो देशमा हुलाकी बाटो र आरती बसहरु कहिलै बद्लिएनन । सडकमा टिनका डब्बाहरुको राज सधैं कायम रहयो । गुड्दा गुड्दै विघटन होलान जस्ता डब्बाहरुले भिड बोकेर कुदिरहे । राजा ज्ञानेन्द्र सहजै बाहिरिएका थिए तर संघीय लोकतान्त्रिक गणतन्त्रको सडकबाट सिन्डिकेट नामको एकतन्त्रीय शासन चन्द्र-सुर्य रहेसम्म रहला जस्तो लाग्थ्यो ।
तर यी सवारीधनी हैनन कवाडीधनीहरुलाई सरकारले सिर्कना हानेको दृश्यमा मलाई बडो मजा आयो । कर तिर्ने नागरिक ! नागरिकका करबाट निर्माण गरिएको सडक ! साला रजाइँ यीनको ? शासन यीनको ? मनपरि यीनको ? कसैले तैबिसेक टुसुक्क बस्न मिल्ने सवारी हाल्यो कि ढुंगा हान्ने ? बाटो छेक्ने ? के हामी मम बनाउन पैठारी गरिएका भैंसी हौ ? हामीले स्वास फेरेर यात्रा गर्न नपाउने ? बसेर यात्रा गर्न नपाउने ?
म यहाँ खासमा सरकारलाई धन्यवाद भन्न आएको । अब मलाई टिनको डब्बा पहिले जस्तो चड्ने रहर छैन सरकार भन्न आएको । गुड जब ओलीजी ! भन्न आएको । तर जाँदाजाँदै एकतन्त्रीय सिन्डिकेट यातायातमा मात्रै छैन ओली जी । जताततै र जतासुकै छ । तपाईंका आँखा त्यसमा परुन । प्रत्येक सेन्डिकेटको तोडाइमा तपाईंले एउटा धन्यवाद नि:शुल्क पाउनु हुनेछ ।
धन्यवाद