काठमाडौं २४ चैत: न्याय सम्पादनका लागि नेपालगन्ज उपमहानगरपालिकाले इजलास निर्माण गरेको छ । अदालतको इजलाससँग मेल खाने इजलास निर्माण गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । उनले इजलास निर्माण भएपछि न्याय सम्पादनमा सहजता हुने विश्वास व्यक्त गरे । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
न्यायाधीश, सरकारी वकिल, अन्य वकिलले बहस गर्ने थलोका साथै बहस सुन्ने तथा आरोपितहरु उभिने ठाउँको उचित व्यवस्था मिलाइएको उनले बताए । ‘अदालतको इजलास र उपमहानगरपालिकाले बनाएको इजलासमा कुनै फरक छैन,’ उनले भने ।
स्थानीय तहका न्यायिक समितिमा सम्बन्ध विच्छेद, अंश, साधसधियार, अनुमति बिना घर, पर्खाल निर्माण, गाली बेइजती, कुटपिट जस्ता मुद्धा दर्ज हुने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा असार यता २७ वटा सम्बन्ध विच्छेद र ५८ वटा अन्य मुद्धा दर्ता भएका छन् । सम्बन्ध विच्छेदका दुई मुद्धा मेलमिलाप पद्धतीबाट समाधान गरिएको कानुन शाखा प्रमुख माया शर्माले बताइन् ।
उनले दर्ता भएका मुद्धामा महिला भन्दा पुरुष पीडित भएको देखिएको बताइन् । महिलालाई कानुनी अधिकार धेरै भएकोले पछिल्लो समय पुरुष पीडित घटना बृद्धि भएको बताउँदै उनले दाइजोका कारण झगडा भई सम्बन्ध विच्छेद गर्ने घटना एकदमै कम आउने गरेको जानकारी दिइन् । ‘अधिकांश सम्बन्ध विच्छेदका मुद्धा सम्पत्तीका लागि दिएको र लोग्नेलाई दुख दिने मनसायले दर्ता भएको देखिन्छ,’ उनले भनिन् ।
डुडुवा गाउँपालिकामा पनि सम्बन्ध विच्छेद र घरायसी झगडाका मुद्धा धेरै आउने गरेको उपाध्यक्ष शाहिदाले बताइन् । उनले पाँच वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको बताउँदै दुई वटा मेलमिलापका आधारमा समाधान गरिएको बताइन् । ‘विवादित व्यक्तिलाई सँगै बसालेर सम्झाई बुझाई गरि मेलमिलाप गराइन्छ,’ उनले भनिन् । नयाँ पत्रिकाबाट