ओलीलाई भेटेर प्रसन्न छु : मोदी



काठमाडौं २४ चैत: भारतीय समकक्षी नरेन्द्र मोदीले ट्वीट गरेका छन्– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रसन्न छु ।’ मोदीसँग भेटवार्ता गरेर नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा आइपुगेका प्रधानमन्त्री ओली पनि निकै प्रसन्न देखिन्थे । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

‘भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रह्यो,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेरो उहाँ (प्रधानमन्त्री मोदी) सँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए । ‘नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको छ,’ उनले थपे, ‘दुई देशबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एकअर्काका परिपूरकका रूपमा थप प्रगाढ बनाउने भन्नेमा छलफल बढी केन्द्रित भयो ।’

रात्रिभोजका पाहुनाहरूमाझ प्रधानमन्त्री ओली निकै उत्साही देखिन्थे । उनले झन्डै एक घण्टा उभिएर कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूलाई भेटे ।

दुई प्रधानमन्त्रीबीच शनिबार भेटघाट गर्ने कार्यक्रम तय थियो । तर, शुक्रबार साँझै एक घण्टाभन्दा बढी एक्लाएक्लै ९वान अन वान० भेटवार्ता भयो । ओलीले भने, ‘नेपाल र भारतबीच अब कुनै समस्या छैन ।’

उनले दुई देशको सम्बन्धमा बेला–बेला समस्या आउने भए पनि समझदारी र छलफलमै टुंगोमा पुग्ने गरेको बताए । नेपालको विकासमा भारतको विश्वासिलो साथ, सहयोग र समर्थन हाम्रो चाहना हो भन्दै ओलीले भने, ‘असमझदारी पहिले नै सकिएकाले अब विश्वासका आधारमा सम्बन्ध उचाइमा लैजाने हो ।’ मोदीले नेपालको समृद्धि, शान्ति र विकासमा भारतले खुलेर सहयोग एवं समर्थन गर्ने ओलीसमक्ष प्रतिबद्धता जनाएका छन् । मोदीको सरकारी निवास ७ लोक कल्याणमार्गमा भएको भेटवार्तामा नेपालमा भारतविरोधी भावना हटाउन सक्नुपर्ने विषयमा भारत निकै सजग रहेको उनले अवगत गराएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले सुरक्षामा होस् वा अन्य सम्बन्धमा, नेपालबाट भारतले कुनै चिन्ता लिनु नपर्ने विषयमा आश्वस्त पारेका थिए ।

नेपालमा संविधान जारी भएर त्यसको केही संशोधनपछि सम्पन्न निर्वाचनलाई भारतले स्वागत गरिसकेको र अब पुराना बिग्रेका विषयलाई बिर्सेर अघि बढ्नुपर्ने उनले बताए । मोदीले पनि यस्ता भेटमा आफूले पहिलो नेपाल भ्रमण गर्दाको समयजस्तो सम्बन्ध बनाउन चाहेको अधिकारीहरूले बताउँदै आएका छन् । प्रधानमन्त्री मोदीले सीमासम्बद्ध सबै खाले समस्या समाधान गर्ने पक्षमा आफू रहेको पनि बताएका थिए । उनले नेपालका ठूला परियोजनाहरूमा भारतले पनि लगानी गर्न सक्ने भन्दै तिनमा आफ्ना देशका लगानीकर्ताको चासो रहन सक्ने हुनाले त्यसमा ध्यान दिनसमेत आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीको वेबसाइटमा उनलाई उद्धृत गर्दै भनिएको छ, ‘नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको छ, आगामी दिनमा थप उचाइमा पुग्ने मैले विश्वास लिएको छु ।’ उनले नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरूबीच महत्त्वपूर्ण छलफल भएको जानकारी दिए । भने, ‘नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुनसक्छ भन्नेबारे छलफल भयो ।’

उनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरूबीच कुनै पनि असमानता र अविश्वास नरहेको समेत बताए । प्रधानमन्त्री ओली र मोदीबीच शनिबार औपचारिक भेटवार्ता हुने र तीन विषयमा भारतीयतर्फबाट घोषणा हुने भएको छ । ती तीन विषयमा जलमार्गमा जहाज, वीरगन्ज–काठमाडौं रेलमार्ग र कृषिको आधुनिकीकरणमा सहयोग छन् । त्यसको समझदारीपत्र भारतीय अधिकारीहरूले निर्माण गरिरहेको स्रोतले जनायो । यसलाई भारतीय पक्षले सहयोग ‘प्याकेज’ का रूपमा घोषणा गर्दैछ ।

दुई प्रधानमन्त्रीले शनिबारै संयुक्त वक्तव्य जारी गर्ने र संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । ओली र मोदीले संयुक्त रूपमा भारतीय सहयोगमा निर्माण भएको वीरगन्जको एकीकृत भन्सार जाँच चौकी दिल्लीमा बटम थिचेर उद्घाटन गर्नेछन् । भारतीय प्रस्तावमा बन्न लागेको अरुण तेस्रोको शिलान्यास भने नेपाली पक्षले गहन तयारीपछि गर्न प्रस्ताव राखेपछि रोकिएको छ । त्यसको सुरुआत मोदी नेपाल आएरै गर्ने समझदारी भएको कूटनीतिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्