बिर्तामोड : बिर्तामोड बसपार्कमा प्रतीक्षालय ओगटेर काउन्टर खोलिएको छ, जसकारण यात्रुलाई टुसुक्क बस्ने ठाउँ छैन। बसपार्क परिसरका खाल्डा र पानीको आहालले यात्रुलाई झनै सास्ती भएको छ।
‘कतै धुलो उड्छ, कतै पानीको आहाल। यहाँ कहिल्यै सुधार भएन, स्थानीय सरकार त आयो तर हामीलाई महसुस भएन’, स्थानीय पुण्य रिमाल वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र लिङ्देनसँग गुनासो पोख्दै थिए।
बसपार्क क्षेत्र आफ्नै वडाभित्र पर्ने भएकाले वडाध्यक्ष लिङ्देनलाई पनि रिमालको कुरा नसुनी धर थिएन। नयाँ बसपार्कभित्रको समस्या लिएर वडा कार्यालयमा दैनिक थुप्रै स्थानीय पुग्ने गरेका छन्। स्थानीय र यात्रुले दैनिक गुनासो गरे पनि बसपार्कको सुधार हुन सकेको छैन।
बसपार्कमा खोलिएका अव्यवस्थित काउन्टरले प्रतीक्षालय भरिएका छन्। सडक क्षेत्र भत्किएर खाल्टाखुल्टी मात्र छ। स्थानीय सुदर्शन गिरीले पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको २ बिगाहा ८ कट्ठा जग्गामा बनेको छ बसपार्क। कालोपत्रे र काउन्टर क्षेत्र भत्किँदा बसपार्क कुरुप बन्दै गएको छ। बसपार्क क्षेत्र र सो स्थानमा निर्मित भवनको रंगरोगन उडेको छ भने ट्वाइलेट, बाथरुम र धाराका फुटेका पाइपबाट निस्किएको पानीले पहिलेका पिच र भवन भत्किन थालेको छ।
संरक्षण अभावमा आकर्षक बसपार्क उजाड र कुरुप बनेको देख्दा आफूहरू निराश बनेको स्थानीय शिवप्रसाद पौडेलले बताए। दाताको इच्छाअनुरूप दीर्घकालीन रूपमा उच्च व्यस्थापनमा बसपार्क सञ्चालन नहुँदा उनीहरूको सम्मानसमेत हुन नसकेको पौडेलको भनाइ छ।
भारत सरकारको सहयोगमा बनेको बसपार्क क्षेत्रको सुधारका लागि सम्बन्धित निकायको चासो नहुँदा यात्रुले सास्ती बेहोर्नुपरेको स्थानीय सुजन पौडेलले बताए। भने, ‘बसपार्कलाई व्यवस्थित गर्न सरकारी तवरबाटै प्रयास जरुरी छ।’ दैनिक हजारौं यात्रुको ओहोरदोहोर हुने बसपार्क नगरपालिकाको मुख्य आकर्षणस्थलमध्ये रहेकाले जनप्रतिनिधिले चासो दिनुपर्ने उनको बुझाइ छ।
प्रतीक्षालयमा काउन्टर खोल्ने तथा खानेपानी भएको स्थानलाई भत्काएर व्यवसाय सञ्चालन गर्ने, सिटी सफारीले कमिसनमा यात्रु ओसार्नेलगायतकारण बसपार्कमा विकृति फैलिएको व्यवसायीकै भनाइ छ। बसपार्क व्यवस्थापन समिति बनाए पनि अहिले सक्रिय नहुँदा बसपार्क छिर्ने बसलाई पैसा उठाउने, कमिसन माग्नेको संख्या बढेको चालकको गुनासो छ।
बसपार्कको आम्दानी लिन बिर्तामोड र अर्जुनधारा दुवै नगरपालिकाले तछाडमछाड गर्ने गरे पनि यसको विकासमा चासो नदिएको स्थानीय अर्जुन लिम्बूले बताए। आम्दानी अझै सार्वजनिकसमेत नगरिएको उनको भनाइ।
बसपार्क रहेको स्थान बिर्तामोड–५ र अर्जुनधारा–११ मा पर्ने भएकाले यसको सुधारका लागि दुवै तह जिम्मेवार हुनुपर्ने स्थानीय पुण्य रिमालको तर्क छ। वडाध्यक्ष लिङ्देनले स्थानीयका माग जायज भए पनि मेयरहरूको सुस्तताका कारण आफ्नो मात्र जोडबल नचलेको बताए।
अर्जुनधाराका मेयर हरि रानाले बसपार्कको आम्दानी ६०/४० बाँड्ने कुरा भएको स्वीकार गर्दै विकासका लागि आफूले योजना बनाइरहेको दाबी गरे। भने, ‘दुवै नगरपालिका बसेर योजना बनाउँछौं र विकास गर्नेछौं।’ बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले दुवै तहले यो विषयमा चासो दिएर खानेपानी, बिजुलीलगायत विभिन्न पूर्वाधार विकासका लागि पहल गर्ने बताए। (अन्नपुर्ण पोस्ट)