वीरगन्ज उपमहानगरपालिका–१३ का सुधिर पाण्डेले बाटोमा भेटेको ४० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–२ स्थित जनकपुर भिठामोड सडकमा यात्राको क्रममा फेला परेको ४० हजार रुपैयाँ पाण्डेले प्रहरीमार्फत् सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हुन् । रकम महोत्तरीको सरपल्लो–४ बस्ने रामअधिन ठाकुरको भएको महोत्तरीका एसपी कुबेर कठायतले जानकारी दिए ।
पाण्डेले बुधबार यात्राको क्रममा पिपरामा ४० हजार नगदसहित अन्य कागजात भएको पर्स फेला पारेका थिए । नगदसहितको पर्स भेटेपछि पाण्डेले उक्त नगद एसपी कठायतलाई बुझाएका थिए । प्रहरीले पर्समै भएको ठेगानाका आधारमा पीडितलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर नगदसहितको कागजात जिम्मा लगाएको हो । भनि आजको नयाँ पत्रिकामा खबर छ ।
पर्समा ४० हजार दुई सय ८५ रुपैयाँ नगद, एटिएम कार्ड तथा अन्य कागजात थिए । हराएको नगद फेला परेकोमा ठाकुरले खुसी व्यक्त गरे । एसपी कठायतले पाण्डेयलाई मानवीय धर्म निभाएकोमा धन्यवाद दिएका छन् ।