रौतहटमा भन्सार नतिरेका भारतीय सवारीसाधन निर्वाध रूपमा चल्दै आएका छन् । भन्सार नै नतिरी चल्ने अधिकांश सवारीसाधन भारतका विभिन्न राज्यबाट चोरी गरेर ल्याइएका हुन सक्ने अनुमान गरिएको छ । कतिपय भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिए पनि त्यसका धनी फेला परेका छैनन् ।
हकदाबी नभएको सवारी चोरीका हुन सक्ने प्रहरीको अनुमान छ । ‘नेपालीले सस्तोमा पाएकाले चोरीका भारतीय गाडी किनेका हुन सक्छन्,’ रौटहटका एसपी यज्ञविनोद पोखरेलले भने, ‘त्यस्ता गाडीका धनी फेला पर्दैनन् ।’
भन्सार तिरेको रसिद र अन्य कागजात नभएका केही सवारी र त्यसका चालकलाई पक्राउ गरेर कारबाही सुरु गरिएको सएपी पोखरेलले बताए । छानबिन गर्दा भारतीय सवारी प्रयोग गर्ने कतिपय निर्दोषलाई भने प्रहरीले छाड्ने गरेको छ । प्रहरीको नजरमा नपरेका कागजातविनाका दर्जनौँ सवारीसाधन अहिले पनि रौतहटका गाउँ–गाउँमा गुडिरहेका छन् । रौतहटको दक्षिणी क्षेत्रमा त्यस्ता सवारीसाधन बाक्लै फेला पर्ने गरेका छन् ।
पक्राउ पर्नेको तथ्यांक छैन
अहिलेसम्म अवैध भारतीय सवारीसाधन कतिवटा बरामद भए त्यसको यकिन तथ्यांक भने रौतहट प्रहरीसँग छैन । पक्राउ पर्ने गाडी धनी र त्यसका चालकको यकिन तथ्यांक पनि नभएको एसपी पोखरेलले बताए । गाडीसहित धनी समातिँदा मुद्दामा जानुपर्ने र लिलाम गर्न नपाइने हुनाले प्रहरीले चलाखीपूर्ण तरिकाले उन्मुक्ति दिने गरेको राजस्वका एक कर्मचारीले बताए ।
‘भन्सार र राजस्वमा चोरीका गाडी पठाउँदा लिलाम हुन्छ,’ उनले भने, ‘त्यसबाट प्रहरीका हाकिम र कर्मचारीलाई कमिसन आउँछ । धनी पक्राउ गर्दा मुद्दाको झमेला व्यहोर्नुपर्छ, कमिसन पनि आउँदैन।’
प्रहरी नदेखेझैँ गर्छन्
रौतहटको दक्षिणी भेगका अधिकांश बजार तथा गाउँमा नम्बर प्लेट नै नभएका भारतीय सवारीसाधन चल्ने गरेका भए पनि प्रहरीले चासो दिँदैन । त्यस्ता सवारीसाधनलाई प्रहरीले देखे पनि नदेखेझैँ गर्ने गरेको बंकुलका स्थानीय सञ्चारकर्मी आदर्श उपाध्यायले जानकारी दिए ।
चारचक्के मात्र नभएर चोरीका र नम्बर प्लेट नभएका भारतीय मोटरसाइकल जिल्लामा छ्यापछ्याप्ती गुड्ने गरेका छन् । त्यस्ता सवारीको नियन्त्रणतर्फ ट्राफिक प्रहरीले ध्यान नदिएको स्थानीयको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राममणि उप्रेतीले आवश्यक जनशक्ति अभावमा ट्राफिक प्रहरीले चोरीका गाडी नियन्त्रणमा काम गर्न नसकेको दाबी गरे । (नयाँ पत्रिका)